“हजुरजस्तो दानी मान्छे त कहाँ पाउने ?” अनुहार अति उज्यालो बनाएर पहिलोले उसको तारिफ गर्‍यो ।

ऊ मौन ।

दोस्रो बोल्यो, “यो देशमा हजुरजस्तो असल मान्छे पाउन असम्भव छ, हजुर त हजुर हो !”

९ जनाले तारिफ गरे । ऊ मौन । मुस्कान पनि महँगो ! केही नबोली बिदा भयो ।

आधा घण्टापछि, “मोबाइल छोडेर गएछु !”

ऊ आयो । मोबाइल छोडेर गएकै हो । लिएर गयो ।

“हैट ! यसको त भर छैन । कतै जानी जानी छोडेर गएको त होइन नि ?” पहिलोले शङ्का गर्‍यो ।

“जे पनि हुनसक्छ !” दोस्रो बल्यो ।

“हामी पनि हामी, प्रत्यक्षमा देवत्वकरण, मान्छे नभए राक्षसीकरण !” तेस्रोको अनुमान ।

ऊ घर आयो । रेकर्ड सुन्यो ।

“चिनियो ।” यत्ति भन्यो ।

त्यसपछि ऊ कहिल्यै पनि सार्वजनिक समारोहमा देखिएन ।