राती अबेरसम्म काँचको पर्दामा नेपाल र भारतबिचको ऐतिहासिक  क्रिकेट  म्याच हेरेको हुनाले बिहान अलि ढिलो उठेँ । हतारहतार कलेज पुगेर सिधै कक्षातिर छिरेँ । स्नातक तहका विद्यार्थीहरूलाई क्रिकेटको क्रेजले नतान्ने कुरै भएन । विद्यार्थीहरू रातिको खेलबारे गफिने मुडमा थिए ।

उनीहरूले भन्दै थिए, “सर, हामी भारतीय क्रिकेट टिमका  फ्यान हौँ । आज पहिलो पटक भारतले राम्रो खेलेकोमा रिस उठिरहेको थियो । बिराट कोहलीले क्याच छोडेकोमा खुसी भयौं । भारतीय खेलाडीहरूले नराम्रो खेलुन् भनेर कामना गरिरहेका थियौँ । यो के भएको होला सर ?”

मैले विद्यार्थीहरूतिर हेरेँ । अधिकांश विद्यार्थीहरू मधेसी समुदायका थिए । उनीहरूको मुहारमा सन्तुष्टिको अपूर्व आभा चम्किरहेको थियो । मैले मुस्कुराउँदै भनेँ, “जहाँ देशको प्रश्न आउँछ, त्यहाँ अरू सबै विषय गौण हुन्छन् । नेसन फस्ट । यही हो राष्ट्रियता ।”

धेरै पटक उनीहरूलाई राष्ट्रियताको बारेमा पढाएको थिएँ । आज मेरै विद्यार्थीहरूले मलाई राष्ट्रियता बुझाइदिएका थिए । यहाँ राष्ट्रियता रङ्ग, छाला, भाषा, पोसाक, धर्म, सम्प्रदाय आदिमा खोजिन्छ । वास्तवमा राष्ट्रियता भावनामा हुन्छ भन्ने उनीहरूले छर्लङ्ग पारे ।