ऊ एउटा लेखक, अझ एउटा विचारक । राष्ट्रिय स्तरका लोकप्रिय समाचार पत्रहरूमा उसका लेखहरू छापिन्छन् । छापिन्छन् मात्र होइन तिनले निकै सनसनी पनि फैलाउँछ किनकि ऊसँग विचारका साथसाथै प्रस्तुतिको रोचक शैली पनि छ । लेखन उसको मुख्य पेसा होइन । ऊ त सरकारी जागिरे पनि हो तर पनि उसलाई जागिरभन्दा लेखन प्यारो लाग्छ । लेखनकै माध्यमबाट आफूलाई धेरैले चिनेकोमा ऊ गर्व गर्छ आफैप्रति ।

साहित्यिक व्यक्ति पनि हो ऊ तर उसलाई साहित्यिक लेखनमा अचेल रुचि लाग्न छाडेको छ किनकि, साहित्यिक पुस्तक-पत्रपत्रिकामा लेखेर उसले पारिश्रमिक प्राय पाउँदैन । पाए पनि नगण्य मात्र हुन्छ । समाचार पत्रहरूबाट भने मनग्ये आम्दानी गर्दछ । पत्रिकामा लेखका साथै आफ्नो आकर्षक तस्बिर देख्दा ऊ मख्ख पर्ने गर्दछ । त्योभन्दा बढी मख्ख त ऊ त्यहाँबाट पारिश्रमिक बुझेको दिन पर्ने गर्दछ । त्यो पैसा उसलाई चिट्ठामा परेको झैँ लाग्छ अनि मन फुकाएर उडाउँछ ।

आज पनि उसको हातमा पत्रिका छ जसमा उसको लेख छापिएको छ । त्यस पत्रिकाको आजको मुख्य आकर्षण नै उसैको लेख हो । यति मात्र कहाँ हो र ? आज त उसले पारिश्रमिक बुझेको छ । त्यो पनि जम्मा भइरहेका चार-पाँचवटा लेखको । उसलाई आफ्नो पर्स गह्रौँ भए झैँ लागेको छ । कहाँ गएर त्यसलाई हलुको पार्ने भनेर योजना बनाउँदै छ ।

श्रीमतीलाई उपहार किन्ने, साथीहरूसँग रेस्टुरेन्टमा गएर खाने, छोराछोरीलाई घुमाउन लैजाने आदि-आदि । यस्दै सोचेर हिडिरहेको उसलाई कुनै नमिठो गन्धको आभाष हुन्छ । सडकछेउ फोहोर थुपारिएको थियो । त्यसैको दुर्गन्ध होला भन्ने ठानी ऊ अघि बढ्न खोज्दै थियो दुर्गन्ध झनै कडा भयो । यसो हेर्छ, भुइँमा पत्रिकामा लत्पतिएको मानवमल थियो । त्यसैमा मुस्काइरहेको थियो उसैको तस्बिर । उसले समातेको पर्स अनायास हातबाट फुत्त झर्छ ।