शहरको बिहान सूर्योदयसँगै होइन, पुस्तकको पहिलो पाना पल्टिएपछि शुरू हुन्थ्यो । घडीको अलार्मले होइन, कथाको उत्कण्ठाले मान्छेहरूलाई निद्राबाट उठाउँथ्यो । कागजको सुगन्ध र हरफको स्पर्शले बिहानको चिया झन् मीठो बनाउँथ्यो ।
नित्यकर्मका स्थानमा पनि साहित्य वास गर्दथ्यो । शौचालयको ढोकामा टाँसिएका कविताले आत्मचिन्तन गराउँथ्यो । भान्सामा खाना बनाउँदा एकाध निबन्ध सकिन्थे । खाजासँगै गम्भीर उपन्यासका संवाद चल्थे ।
पैदल हिंड्दा हातमा उपन्यास तथा बसभित्र अक्षरमा आँखा हुन्थे । स्कूल, कलेज, अफिस र बगैंचामा पुस्तकमा घोप्टिएका मान्छे देखिन्थे । जताततै पुस्तकको लत थियो ।
चियापसल बहसका चौतारी थिए । कथाको मोड, पात्रको द्वन्द्व वा लेखकको मनोविज्ञानबारे विमर्श हुन्थ्यो । किशोर/किशोरीको डेट पुस्तकालयमा हुन्थ्यो । कवितामार्फत प्रेम प्रस्ताव राखिन्थ्यो । विरही गीतबाट डिभोर्स थाहा पाइन्थ्यो । दाइजोमा पुस्तकको चर्को डिमान्ड हुन्थ्यो ।
पुस्तकको चर्चा सुन्न मान्छेहरू घण्टौं हिंडेर साहित्यालय पुग्ने चलन थियो । पढ्न नपाउँदा छटपटी हुने, निद्रा नआउने, सामाजिक दूरी महसूस गर्नेहरू बढ्दै थिए । कसैले चिकित्सकको सल्लाह नलिई आत्मा शान्त गर्न आध्यात्मिक साहित्य रोज्थे । मानसिक उपचारमा पनि कविता, संस्मरण र गद्य प्रयोग हुन्थ्यो । ‘बुक डिटक्स’ थेरापी शुरू भइसकेको थियो ।
उपहार दिनु भनेको पुस्तक हस्तान्तरण गर्नु थियो । अस्पतालमा बिरामीलाई ‘शीघ्र स्वास्थ्यलाभको कामना’ भन्दै पुस्तक दिने चलन थियो । कसैलाई भेट्न जाँदा पुस्तक लिएर जाने चलन थियो । केहीले निद्राका लागि औषधिको सट्टा कविता पढ्दथे । धनीहरूले त डाक्टरसँगै साहित्य सल्लाहकार राख्न थालेका थिए ।
लेखकहरू सबैभन्दा धनी हुन्थे, विलासी जीवन बिताउँथे । प्रकाशक र पुस्तक बिक्रेताको करले सरकार चल्दथ्यो । सञ्चारमाध्यममा मुख्य शीर्षक पुस्तक हुन्थे । गाउँ तथा शहर पुस्तक पसल र पुस्तकालयले भरिएका थिए ।
एक साँझ नातिनीले हजुरबुवासँग जिज्ञासा राखिन्, “तपाईंको पालामा पनि किताबकै मोह हुन्थ्यो होला है ?”
हजुरबुबाले बिस्तारै भने, “हाम्रो पालामा एउटा मोबाइल नामको सानो उपकरण हुन्थ्यो । त्यहाँ फेसबुक, टिकटक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, एआइ इफेक्ट आदि हुन्थे । मान्छे तीभित्रै कैद भएका थिए । शायद त्यो युग ‘स्क्रीन-एरा’ भनेर संग्रहालयमा कैद छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










