`गल्लीपारिका वृहस्पति ढकालले भेट्न खोज्दै थिए, हजुरलाई !´ मन्दिर पुगेर आउँद‌ै गरेका पण्डित बाजेलाई पण्डितनी बज्यैले  दैला ठेलामै सम्झाइन्, `घरपैँचो कि के जातिका लागि साइत हेर्दिनुपर्‍यो भन्दै थिए ।´

`आइतबार आइतकुमारको घरमा एकाहा, सोमबार सोमवीरको घरमा रुद्री, मङ्गलबार मङ्गली भाउजूकोमा वार्षिकी …´ पण्डित बाजेले आसकोटको खल्तीबाट चस्मा निकाल्दै टिपोट हेरेर बोल्दै गए । त्यति नै बेला घरपैँचोको साइत हेर्ने कुरा सम्झाउँदै वृहस्पतिको फोन आयो ।

पण्डित बाजेले राशिको नाम सोधे जस्तो गरे । `राशि वृश्चिक, राशिको नाम यिश्वर…´ उताबाट आवाज आयो । `वृश्चिक राशि तो ना नि नु ने या यि यु … भनेपछि मैले कुरा बुझेँ । पात्रो हेरेर एक छिनपछि फोन गर्छु´ भनेर फोन राखिहाले ।

पण्डित बाजेले अघिको क्रम फेरि अगाडि बढाए । `बुधबार बुद्धिप्रसादकी छोरीको बिहे, शुक्रबार शुकमाया भाउजूकोमा सरात, शनिबार सन्सरेका भान्जाको बर्तुन …।´ पण्डित बाजेले पण्डितनी बज्यैसँग भित्ताको क्यालेन्डर मगाए ।

आफू व्यस्त हुने बार हेर्दै घेरो लगाए, फोन निकाले र तुरुन्तै ब्याक कल गरिहाले- `मैले पात्रो हेर्दा बिहीबार राम्रो साइत निस्कियो है, वृहस्पति बाबु !´