कोठामा डम्म धुवाँ भरिएको भरियै छ । एक मनले सोचें, “भयो कसैलाई दुखी बनाउँदिन एक्लै दुखी मन लिएर बिदा हुन्छु सधैँका लागि ।”

मन मानेन फेरि फोन लगाएँ र भक्कानिएँ धेरै बेर । पहिले अभ्यस्त हुनै नमानेको आवाज अलि अलि अभ्यस्त हुँदै आएपछि गला अवरुद्ध हुन कम भयो जिब्रो लर्बराउन छाड्यो । श्रीमतीसँगको  लामै कुराकानी पछि  आवाजले पनि मान्न  थाल्यो

अनि छोरालाई सम्झाउँदै गएँ, “बाबु ! मेरो राजा आमालाई कहिल्यै नसताउनू, दिदीलाई सधैँ माया गर्नू, धेरै ज्ञानी बन्नू है ।” बोल्दै गएँ । अघिपछि मेरो एउटा शब्द नसुन्दै धैर्यता गुमाएर  सिङ्गो अनुच्छेद नै बनाइसक्ने मेरो छोरो निकै धैर्य भएर मेरा कुरा सुन्दै थियो मानौं ऊ कुनै भविष्यद्रष्टा थियो जसले  मेरो यो संवाद  अन्तिम ठानिसकेको थियो।

यो संवाद र यो कुराकानीले मभित्र बाँच्ने जिजीविषा झन् ब्यग्र भएर आयो । आशा प्रायः मृत भएकै थिए । थाकिसकेको आखाबाट अर्को आशा जन्माएर फेरि जीवनलाई आकार दिने लोभमा चिच्याएँ, कराएँ र कराइरहेँ । माथिबाट देखे कत्ति साना मान्छेहरु आकारले र विचारले पनि । यतिबेला मलाई आफू मान्छे हुनुमा साह्रै ठूलो अभिश्राप जस्तै  लाग्यो । सायद चरा भएकोभए उडेर जान्थे मुसा  नै भएको भए पनि दौडेर जान्थे । अगाडि ढोका खुल्लै थियो तर मेरा लागि सम्भावनाका ढोका सधैँ सधैँका लागि कैले नखुल्ने गरी बन्द हुँदै थिए । विदेशको रङ्गिन साडी तिमीलाई उपाहार भन्न नपाउँदै । छातीमा  टाँसेर छोरालाई राख्नु भन्दा पहिले आफै भित्तामा तस्बिर बनेर टाँसिने आशंकाबाट जोगिन अन्तिमपटक फोन घुमाएँ ।फोन घुम्यो सम्भावना घुमेन र कहि…ल्यै घुमेन मेरो जीवन ।