श्री सरस्वती उच्च माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थीहरूको वनभोज कार्यक्रम छ । वर्षौं-वर्षपछि भेटघाट  यो जुरेको छ। नाच्नु गाउनु चलिरहेको छ । तास खेल्नेदेखि टिकटक बनाउनेसम्म सबै व्यस्त छन् ।प्राय प्राय सबै विदेशबाटै आएका छन् ।

सिरिजंग बोल्यो, “उता युकेमा त कहाँ जथाभाबी बाटो काट्न पाइन्छ र ? तोकिएकै ठाउँबाटै बाटो काट्नु पर्छ ।”

तारा बोलिन्, “हो नि । उता अस्ट्रेलियामा रोडमा फिटिक्कै मैला गर्नु पाइँदैन । रोडहरू खुबै साफ सुग्घर हुन्छन् ”

मोहितराम बोल्यो, “हो भन्या ! क्यानडामा सार्वजनिक स्थलमा होहल्ला गर्न पाइँदै पाइँदैन एक दम स्ट्रिट छ ।”

राधेश्याम बोल्यो, “अनि जापानमा चाहिँ काममा एक मिनेट पनि ढिलो जान पाइँदैन  । समयको पक्का हुनु पर्छ ।”

अरूहरूले पनि आ-आफू रहेको देशमा के के गर्न पाइँदैन भनेर पालैपालो बोल्दै गए । थप्दै गए । धाकधक्कु बढ्दै गयो ।

विदेशको नाममा इन्डिया समेत नपुगेको धिरजले निकै बेर यो सब चुपचाप सुनिरह्यो ।

अन्तमा केही बोल्नै पर्ने ठानेर यति बोल्यो, “हैन हौ साथी हो ! यी सब कुराहरू नेपालमा चैँ कहाँ गर्न पाइन्छ त ? हामी गर्छौं त्यो हाम्रो तुच्छ व्यवहार हो तर अहँ, नेपालमा पनि यी सब कुराहरू बिलकुलै गर्न पाइँदैन ।”

सबै जना एक अर्कालाई हेराहेर गर्दै तैँचुप मैचुप भए ।