क्याफेमा एउटा साथीसँग खाजा खाँदै थिएँ, निन्याउरो मुख लगाएर खाँदै त थियो साथी तर शब्द केही ओकल्ने मुडमा भने देखिएन । के भो भनेर सोध्दा खास केही होइन भनेर टार्न खोज्यो, म किन त्यसै छाड्थेँ  । आखिर उसलाई पोको खोल्न करै लाग्यो ।

कुरो सासू बुहारीको झगडाको परम्परागत अन्तर्राष्ट्रिय समस्याको रहेछ ।  कहिले मिलेकै देखिन्छन् , कहिले बोलचाल बारेर उत्तर दक्षिण फर्केका हुन्छन्  । कुरो सुन्दा दुवैको ठिकै जस्तो पनि लाग्छ । कसलाई सपोर्ट गर्नु, कसलाई सम्झाउनु । फेरि आफूले कुरो राम्ररी बुझ्न सके पो सम्झाउनु  । आज दुबैलाई सँगै राखेर राम्ररी सम्झाउन पर्यो भनेर बेलुका  कस्सिएर घर गयो, दिउँसै मिलिसकेर सँगै तर्कारी काटिरहेका हुन्छन्  । कहिले त झगडा के को हो भनेर सूक्ष्म अनुसन्धान गर्यो, बीउ सम्म पत्ता लाग्दैन । अहिले फेरि पानी बाराबार छ, घर जानै मन लाग्दैन यार !

साथीको कुरो सुनेर “यो ग्लोबल समस्याको मनसुनमा यसको घर मात्रै कसरी ओभानो रहन सक्थ्यो र” भनी मनमनै गुन्दै थिएँ, त्यही अनुरूपको भाव कसो कसो मेरो मुहारमा एउटा मन्द हास्यको रूपमा झल्किएछ ।

झन् आफ्नो व्यथा एउटा मिल्ने साथीलाई सुनाएपछि मन हल्का होला भनेको, तँ चाहिँ मजाक उडाएर उल्टो हाँस्दै छस् हैन ! भन्दै साथी कड्कियो ।

उसलाई थामथुम पार्न कम्ता हम्मे परेन ।

उसलाई सम्झाउँदै भनेँ, “सुन् , दुइटा भाँडा सँगै राखेपछि बज्छ कि बज्दैन? बज्नुपर्छ । बजेन भने बुझ्नुपर्छ कि या त एउटा या दुइटै भाँडा बिग्रेका/फुटेका छन्  । तेरो घरमा दुइटै भाँडा सग्लै रहेछन् । आन्टी र भावीजी दुवै स्वस्थ स्फूर्त हुनुहुँदो रहेछ भन्ने सन्तोषजन्य भावले उब्जाएको मुस्कान हो मेरो ।

अझ सुन्, तिबेटियन प्लेट र इन्डियन प्लेटको घर्षणको कारणले उत्पन्न हुने प्रेसरलाई रिलिज गर्न बेला बेला सानोतिनो भूकम्प गइरहनु राम्रै रहेछ भन्ने तथ्य प्रमाणित भयो कि भएन? प्रेसर धेरै थुप्रियो भने एकै पटक कस्तो दुष्परिणाम निस्कन्छ, ७२ सालमा देखिहालिस् । त्यसैले, बेला बेलामा आउने घरमुनिको कम्पनले होस् या घरभित्रको टनटनले, तेरो घर भत्किनबाट जोगाएकै छन्, धेरै चिन्ता नगर् भाइ ।”

म कुनै दार्शनिक होइन । बेमौकाको झीनो हाँसोले साथीलाई क्रुद्ध बनाएपछि दोस्ती जोगाउन तत्काल फुरेका यी दुई दृष्टान्त कत्तिको सही, सान्दर्भिक र सापेक्ष छन्, थाहा छैन ।

“कहाँको कुरा कहाँ जोड्छ यार । खै के, खै के” भन्दै गर्दा साथीको ओठमा देखिएको एउटा मन्द हास्यले भने मलाई ठुलै राहत दियो ।