राम सधैँ  झैँ खेतमा मकै बोट हेर्दै थियो । सुरुमा खुसी थियो । मकै राम्रो भएकोमा । पछि मकै पुरै सुत्ला नलागी हौसिएको मात्र देख्यो । कृषिबाट ल्याएको बिउ राम्रो हुनुपर्ने । किन यस्तो भयो भन्दै गनगन गर्न थाल्यो । अब भएन बरु बेलैमा मकै  भएन धान रोप्नु पर्याे । धानको ब्याड  बनायो । कृषिबाट राम्रो बिउ ल्याएर  लगाउनु पर्याे, मकैको बारे पनि कृषि केन्द्रमा गएर रिपोर्ट गर्न पर्याे भन्दै  कृषि केन्द्रमा गयो ।

कृषि केन्द्रमा किसानहरू मकै बाेटै लिएर गइरहेकाे देख्यो । उसले मनमनै मेरो मात्र हैन, सबैकाे यस्तै रहेछ भन्दै चित्त बुझायाे ।

कृषि केन्द्रमा गयो उसले वृत्तान्त सुनायो ।

कर्मचारीले, “के गर्नु हजुर हामीले पनि बेच्ने त हाे ? आफैले  उत्पादन र परीक्षण गरेको हैन, यसको बारे हामीलाई थाहा हुँदैन” भन्दै पन्छिए ।

रामले फेरि  भन्यो, “मलाई दश के जी धानको बिउ दिनुहोस् ।”

कर्मचारीले, “तपाईं कसले पठाएर आएको ? खै पास देखाउनुस् त” भनेर प्रश्न  गर्याे ।

राम जिल्ल पर्याे । फेरि प्रश्न गर्याे, “के भनेको  मैले बुझिन ।”

“तपाईं यहाँ आउँदा पार्टीको सिफारिस  खुलाएर आउनु भएको भए हुन्थ्यो । हाम्रो हाकिमले अरूलाई हुन्न भनेका छन्, के गर्नु मैले पनि नुनको सोझो गर्नै पर्याे । निष्पक्ष सेवाले पेट नभरिने रैछ” भन्यो ।

राम निराश हुँदै, “ए भगवान् ! हामी जस्तो गरिब किसान के अब पहुँच  नभएकै कारणले मर्नु पर्ने । जसको कृषिमा लगानी छैन उसैले अनुदान, जो सहरमा घर छन् उहीँ गरिब कोटामा अनुदान धन्य होस् बरु भोकै मरुँला” भन्दै आफैँ सान्त्वना दिँदै फर्केर आयो ।