“मान्छे पनि कस्ता कस्ता ? दाहसंस्कार गर्दा पनि नाचगान गर्न थाले। रमाइलो उत्सव मनाए जस्तै।” हालसालै समाचारमा आएको कुरालाई नमिठो मान्दै कोट्याए रमाकान्त बाजेले।
चिया पसल अगाडिको चौतारोमा बिहान जुटेर चियागफ गर्ने दैनिकी चलिरहेको थियो, टोलका बुढापाकाहरूको।
“परम्परा,रीतिरिवाज मान्छेले नै त बनाएका हुन्। फरक फरक धर्म,फरक फरक समुदायले आआफ्नो अनुकूल बनाए। ती रीतिरिवाज अर्को धर्म समुदायलाई पाच्य नहुन सक्छ। हिन्दुको जन्म, विवाह, मृत्यु संस्कार इस्लाम, क्रिस्चियनसँग मिल्दैन। हिन्दु भित्रै पनि भूगोल, समुदायअनुसार केही न केही फरक भेटिन्छ।” चिया सुरुप्प पार्दै भागिरथले जवाफ दिए।
“त्यही त मान्छे मर्दा कसैले बाजागाजा बजाउँदै दाहसंस्कार गर्छन्। कसैले गाड्छन्, कसैले जलाउँछन्।अझ हिमाली भेगमा त कुन जातिले हो, लासलाई टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउँछन् रे। ती पनि त मान्छेले नै बनाएका चलन त हुन्।त्यसैले कुनै धर्म, समुदायको रीतिरिवाजलाई अर्को धर्म,समुदायले घृणा गर्ने, होच्याउने गर्नु हुँदैन।” भागिरथको भनाइमा सही थाप्दै गङ्गारामले कुरा थपे।
चिया पसलमा भाँडा धुने भुण्टेले बुढापाकाका गफमाथि उटुङ्ग्याहा उटुङ्ग्याहा कुरा थप्थ्यो।
उनीहरूले पनि भुण्टेको उटुङ्ग्याइँमा रमाइलो मान्थे र हाँसिदिन्थे। त्यसैले भुण्टे अझै हौसिन्थ्यो।
“गाउँका युवाहरू सब बिदेसिए। मर्दापर्दा मलामी जुट्न पनि गाह्रो हुन थाल्यो।” अब के उट्पट्याङ बोल्न थाल्यो भनी सबैको ध्यान भुण्टेतर्फ खिचियो।
“मान्छे मर्दा दाजुभाइ, छरछिमेक, इष्टमित्रहरू जुट्ने। अनि मृतकलाई काटकुट गरी भुटुवा खाने चलन चलाएको भए कति जाति हुन्थ्यो, हैन त बाजे ?” भुण्टे प्याच्च बोल्यो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।