१.नेपालको पहिलो लघुकथा

पुरानो कथा ( पूर्णप्रसाद ब्राह्मण )

युगले प्रकृतिसँग गर्व गर्दै भन्यो, “एउटा पुरानो कथा हालौं न दिदी ?”

प्रकृतिले उत्सुक आकांक्षामा भनिन् । अनि युगले हाँस्दै भन्यो, “एकादेशमा सारङ्गी पेट, ढोकाको पाटो, कस्तो करङ्ग, खटप्वाल जस्ता आँखा ?”

पूर्णप्रसाद ब्राह्मण

लाखौं मानिसहरू एक गठ भएर निधारको पसिना पुछ्दै अन्यौल र बिखलबन्द भएर परस्पर भनिरहेका थिए, “कस्तो देखल चोरी भयो ए भाइ हो निधारमा पसिना हातमा ठेला यत्ति हो हाम्रो भागमा सधैँ ? कि के हो ?”

त्यो खलबल सुनेर स–साना गाताबन्द पुस्तक बोकेका दुई चार बूढाले त्यहीँ आइपुगेर सेता दाह्री हल्लाउँदै, “ पारी पुगेर आफ्नै आँखाले देखेर हामी आएको विश्वास गर तिमीहरूले त्यो गुमेको ठगिएको र हराएको जत्ति त असाध्यै राम्रो भएको रहेछ है भाइ हो । कत्ति धैर्य र जाँगर नछोड बरू कति गर्न सक्छौ यहाँ ?”

यो सुनेपछि त, “ हो बुवा हो ।” भन्दै ती मानिसहरू अलग अलग भएर फुटे र खित्का मार्दै आफ्नो क्षेत्रतिर पुगे अनि जो भएको बल झिक्न थाले । त्यो सुन्दा सुन्दै प्रकृतिले बीचमा रोकेर युगसँग हाँस्दै भनिन् , “केको धाक लाउँछौ भाइ ? यसलाई पुरानो कथा भनेर अब एउटा नयाँ कथा पनि भनन सुनिहालौं कस्तो रहेछ ?”

( नेपाली लघुकथाको उठानकाल २००७ देखि २०१९ सम्म मानिन्छ । त्यसो त २००७ सालमा नै पूर्णप्रसाद ब्राम्हणले लघुकथा लेखी नेपाली साहित्यमा पहिलो लघुकथाकारको परिचय स्थापना गर्नु भएको छ । उहाँको दुई लघुकथा संग्रह “झिल्का“ (२००७) र “म लोग्ने हूँ” (२००८) प्रकाशनमा आएको देखिन्छ ।

पूर्णप्रसाद ब्राम्हणका लघुकथाहरूले समकालीन राजनीति, सामाजिक शोषण, अन्याय र नारी दमनको विषयमा चोटिलो प्रहार गरेको पाइन्छ । )

…………………..

२. स्वर्णकालीन लघुकथा

सिर्जना र व्यवधान ( किशोर पहाडी )

देशमा प्रधानमन्त्रीको व्यापक बिरोध हुँदै थियो । भन्दै थिए–“हाम्रो माग पूरा हुनैपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।”
त्यही ताक मैले घर बनाउन सुरु गरेँ ।

किशोर पहाडी

उनीहरूले जुलुस निकाले–“प्रधानमन्त्री मुर्दावाद ।”

मैले घर बनाउन जग खनेँ ।

उनीहरूले चक्काजामको कार्यक्रम राखे ।

मैले जग्गाको ढुुङ्गा माटो हाल्ने काम गरेँ ।

उनीहरूले मशाल जुलुस निकाले ।

मैले झ्याल, ढोका हाल्दै गारो बनाउन थालेँ ।

उनीहरूले “नेपाल बन्द” को कार्यक्रम राखे ।

मैले घरमा छाना छाइदिएँ ।

अचेल म घरमा बसिरहेछु । उनीहरू अझै सडकमा ।

(३० को दशकलाई नेपाली लघुकथाको स्वर्णयुग मानिन्छ । यसै समयमा लघुकथा लेखनको गति फराकिलो र उम्दा भएको हो । लघुकथाहरूको प्रकाशन, विशेषाङ्क र “लघुकथा“ नामक पत्रिका यसै समय प्रकाशनमा आएको देखिन्छ ।

लघुकथाकार किशोर पहाडीले २०३४ सालदेखि हालसम्म निरन्तर लघुकथा लेखिरहनु भएको छ । उहाँ थोरै शब्दमा चोटिलो र मर्मस्पर्शी लघुकथा लेख्न माहिर हुनुहुन्छ ।

२०४७ मा उहाँले “अध्ययन“ लघुकथा सम्पादन र २०५३ मा “किम्बदन्ती“ लघुकथा संग्रह प्रकाशनमा ल्याउनु भएको छ ।

“सिर्जना र व्यवथान“ लघुकथा पत्रिकामार्फत् पहिलो प्रकाशनमा आएदेखि नै यसले बोकेको राजनीतिक श्यामव्यङ्ग र प्रस्तुतिको कारण बहुत चर्चामा रह्यो । यो आजको समयमा पनि उत्तिकै समसामयिक छ ।)

…………………

३. मलाई मन परेको लघुकथा ( उमा सिजापती )

उपहार

पवन हाट बजारमा कपडा बेच्ने गथ्र्यो । प्रायः त्यहाँ गाउँघरका मानिसहरू नै ग्राहक थिए । उसले दिनभरिमा थरीथरीका मान्छेहरूसँग सामना गर्नुपर्ने हुन्थ्यो ।

उमा सिजापती

पसल फिजाउन साथ एक महिला आएर सोधिन, “पेन्टी छ ? छ भने कति,कति पर्ने छ दाजु ।”

“माल अनुसारको दाम पर्ने त हो नि ! बहिनी ।”

यसो हेरिन् र भनिन्, “यो मलाई हुन्छ कि हुँदैन ।”

“खै बहिनी मैले नापिदिन मिलेन त” ठट्टा गर्दै भन्यो ।

उसले ग्राहक अनुसारको बोली बोल्नुपर्छ भनेर जानी सकेको थियो । फेरि अर्को बूढो आएर सोधे , “आलु राख्ने बोरा छ बाबु ?” उसले बुझेरै होला हाँस्दै पेन्टी निकालिदियो । अनि किनेर लगे ।

केही बेर पछि माघको जाडोमा पनि पातलो सुती साडी लपेटेर खाली खुट्टा महिला करिब दुई बर्ष जतिको बालक चेपेर आइन् । र सोधिन् “दाजु यत्रोलाई अट्ने लुगा छ ?“

उसले लुगा निकालिदियो । एक जोड सुट छानेर भनिन्, “यस्को दाम कति होला ?“

“तीन सय पचास हो बैनी । लानुहुन्छ भने तीन सय सम्ममा दिउँला ।”

बच्चालाई काखबाट झारेर भुइँमा उभ्याइन् । बच्चाको सुरुवाल सिलाउँदा सिलाउँदा कपडा मक्किएर तुरी देखिन्थ्यो । बाहुला छोटो भएकोले पाखुरामा काँडा उम्रिएको थियो ।

उनले साडीको टुप्पोमा भएको गाठो खोलिन् त्यहाँ दुई सय पचास मात्र थियो । “मसँग पैसा पुगेन दाजु । पछि आउँला । भएको जति सबै पैसा बोकिन रहेछु । घरमा नै छुटेछ ।”

बच्चालाई जुरुक्क उठाएर कम्बरमा बोकिन् । अगाडि बढ्न खोजे पनि उनका आँखा भने त्यही कपडामा अल्झिएका थिए ।

यो दृश्य आफ्नो नजरमा कैद गरेको पसलेले भन्यो, “लानुहोस् बैनी ” हतार गरेर पैसा भुइँमा राख्दै कपडा लगाई दिई । मुखबाट फुत्काई “आहा ! मेरो कालुलाई कति सुहायो । दाजु बाँकी पचास रुपैयाँ आउँदो हटियाको दिन ल्याइदिन्छु है ।”

पसलेले भावुक बन्दै भन्यो, “पर्दैन बहिनी । यो एउटा माईतीले आफ्नो भान्जालाई दिएको उपहार हो ।“ यही सम्झिनु ल ! मनमनै आफ्नी श्रीमती सम्झेर भन्यो, “माफ गरिदेऊ, तिमीलाई दिने प्रेम दिवसको उपहार भन्दा एउटा बालकलाई जाडो छल्ने लुगा उपहार दिनु उचित थियो ।”

(“लघुकथा कुनो” को नवौँ वार्षिक उत्सव (२८ माघ २०७६) मा लघुकथा कुनोमा पोस्ट गरिएको यो कथाबाट नै लघुकथा उमा सिजापती मेरो नजरमा पर्नु भएको हो । उहाँ बेल्बारी, मोरङमा बसी पछिल्लो समय लघुकथाहरू लेख्ने गर्नु हुन्छ ।

यस कथामा यौनिक ठट्यौली, अभाव र संवेदनाहरूलाई यथास्थानमा बढो मज्जाले सजाई अन्त्यमा यादगार झड्का दिइएको छ । )