“अलिकति त बुझ्ने कोसिस गर । कसरी पुर्याऊँ मैले ? उता पनि त हेर्नु पर्छ ।” शेरजङ्गले सम्झाउन खोज्यो ।

“मलाई मतलब छैन । उ बेला त फ्ल्याट खोजेर राख्छु । कुनै दुःख हुन दिन्न भनेर फकायौ । छोरी गृष्मालाई पनि खुब पुलपुलायौ । अहिले उसको खर्च पनि थेगी नसक्नु छ । उता कलेज फीस उस्तै महँगो । यता फ्ल्याट भाडा, दैनिक खर्च मैले कसरी चलाऊँ ?” घुर्क्याउने शैलीमा प्रस्तुत भइन् सुभद्रा ।

‘उबेला पद थियो, शक्ति थियो । पैसाको छेलोखेलो थियो । उता थाहै नदिई यता कान्छी बनाएर राखियो । सधैँ एकनास कहाँ हुँदो रहेछ र ? थोरै तलवितल परे कुरो मिडियामा पुगेर सबै पर्दाफास हुन्छ । ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्छन् । साँच्चै हो रहेछ ।’ मनमनै सोच्दै चुपचाप निस्कियो र छोराको डेरा तर्फ लाग्यो ।

पढाइ सकेर भर्खर जागिरमा लागेको थियो छोरो ।

“अब त बिहे पनि गर्नु पर्ला नि । राम्रो ठाउँबाट कुरा आएको छ । केटी हेर्ने तारतम्य मिलाऊँ कि भनेर आएको ।” छोराको मन बुझ्न खोज्यो शेरजङ्गले ।

“मैले खोजिसकेको छु बाबा । अब उनको पनि पढाइ सकिन लागेको छ । त्यसपछि गरौँला नि बिहे ।” छोराले सहज जवाफ दियो ।

“मलाई पनि भेट गराऊ न त हुनेवाली बुहारीसँग । हेरौँ कस्ती रहिछन् ?”

“यी नै हुन् बाबा तपाईँकी हुनेवाला बुहारी ।” अर्को दिन अफिसबाट फर्कँदा बाइक पछाडि राखेर ल्याएकी गृष्मालाई देखाउँदै भन्यो ।

अकस्मात् गृष्मा सामने पर्दा शेरजङ्गले तोरीका फूल देख्यो । मुखबाट वाक्य फुटेन । मूर्तिवत् उभिइरह्यो ऊ ।