“ठुलाघरे भुपेन्द्रनाथकोमा कोही पनि छैनन्  कि कसो ? हिजो बेलुका उनको घर निकै अँध्यारो देखेथेँ” ओदानमा हात सेक्दै साँल्दाइ बोल्छन् ।

“छोराबुहारी अमेरिकातिर होलान् । अनि श्रीमती बिरामी भएर काठमाडौँतिर लागिन् भनेको सुन्थेँ । सम्पत्ति जति छँदै छ अरू को चाहियो र ?” चियाको चुस्की लिँदै उत्तर दिन्छ कालुमान ।

“के गर्नु र हौ साँल्दाइ त्यो सम्पत्ति ? गाउँ छिमेक कमाउन नसके ।”

“इष्टमित्र कमाउनु पर्ने त हामी गरिबलाई मात्रै हो नि ! सम्पत्ति हुनेलाई त जन्त मलामी सबै किन्न पाइहालिन्छ नि ।”

“हो कि क्या हौ कालुमान ! उ त्यहाँ हेर त ठुलाघरे भुपेन्द्रनाथको बुढेसकालमा एक्लोपनाको साथी ।” ढोकाबाट बाहिर केही देखाउँदै बोल्छन् साँल्दाई ।

कालुमान अलिकति टाउको उचालेर झ्यालबाट बाहिर हेर्छ । ठुलाघरे भुपेन्द्रनाथ विदेशी जातको महँगो कुकुर डुलाउँदै हिँडिरहेका थियो ।