तलमाथि खेत बिचमा सायद पहिरोले खसालेको कान्लो । त्यही कान्लोमा डोकोले छोपेर राखेको बिरुवा ।

बिरुवा सानै छ । हुर्कँदै छ । चुलबुल छ । उसलाई डोकोले  नियन्त्रण गरेको जस्तो लाग्छ । एक दिन एउटा कालो जीव आयो र डोको लडाएर गयो ।

ऊ स्वतन्त्र भयो । छेउमा बडो ठुलो रुख रहेछ । उसले नियाल्दै हेर्यो । पान आकारका पातहरू । नअघाउन्जेल हेरिरह्यो आँखा अगाडिको विश्व ।

केही दिनमा बेतोडले हावा लाग्यो । पातहरू जोडाजोडले हल्लिएका थिए ।

बेतोडले हुरी लागेर होला बिरुवा थाकिसकेको थियो । आँखाका गेडी प्ल्याक्क पार्दै हेरिरहेको थियो । माथिबाट एउटा ढुङ्गा ठुलो हुँदै ठुलो हुँदै उसको खुट्टामा आएर बजारियो । हावाले फेरि ढुङ्गालाई गुडाएर अन्त लग्यो ।

फेरि अर्को दिन पानी पर्यो । बिरुवा निथ्रुक्क भिज्यो । ज्यान पुरै चिसो थियो । उसले सम्झियो यदि ऊ डोकोभित्र भइदिएको भए… ।

उसले बडो सच्चा मनले डोकाको दुहा गर्यो । घरमालिक घरबाट बाहिर निस्किए । उनी यताउति हेरे । बिरुवा निथ्रुक्क भिजेको देखे र आउँदा डोको लिएर आए ।

आस मात्रैले पनि प्राणीलाई कति न्यानो दिन्छ है । बिरुवालाई यसैमा न्यानो भइरहेको थियो । उसले एकाएक याद गर्दै थियो । हावाले चुँडाएको पात ,ढुङ्गाले किचेको खुट्टा,चिसोले कामेको मुटु। अब सहारा मिल्नेछ ।

यही सोच्दा सोच्दै घर मालिक नजिकै आइसकेछन् ।

त्यत्तिकैमा कताबाट एउटा चुलबुले पाठो आयो र मन्टोबाट निमोठेर खायो ।

बाँकी रहेको उसको शरीरले हेरिरह्यो हावाले चुँडाएको पात, ढुङ्गाले किचेको जरा, पानीले कामेको मुटु…