“यहाँको रुख खै ?”

मेरो प्रश्नले ऊ रनभुल्लमा पर्‍यो । यस्तो लाग्थ्यो, उसलाई मेरो प्रश्नको जवाफ थाहा छ तर जवाफ दिन चाहँदैन ।

उसको मानसपटलमा विगतमा घाँस, दाउरा, मेलापात वा मलामी आउँदा-जाँदा यही रुखको छहारीमा विश्राम गरेको दृश्य झल्झल्ती आइरह्यो । गाउँमा कुनै समस्या पर्दा होस् वा कुनै विषयमा पञ्चभलादमीले छलफल गर्नु गर्दा होस्, यही रुखले आश्रय दिन्थ्यो । मानिसलाई बाच्नका लागि चाहिने श्वास दिने यो रुखले कयौं चराचुरुङ्गीहरूलाई वास पनि दिएको थियो । रुखका हरिया पातहरूले गाई वस्तुको आहारा टारेका थिए भने सुकेका पात पतिङ्गरहरूले सोत्तको काम गरेका थिए । यो रुख मानिस, पशुपक्षी, चराचुरुङ्गी लागि मात्र होइन सम्पूर्ण पर्यावरणका लागि समेत प्रकृतिको अमूल्य वरदान थियो ।

यो रुखप्रति उसको सानो गुनासो थियो किनकि रुखको मुनी बसेर गरिएका कतिपय निर्णयहरूले कसै कसैलाई न्याय दिन सकेको थिएन । विमल र कमलीलाई अन्तर्जातीय विवाह गरेकै कारणले गाउँ निकाला गरिएको, बलात्कारी मुख्याको छोरोले सफाइ पाएको, गरीबको लागि आएको छात्रवृत्ति जमिनदारको छोरीले पाएकी, विवादमा काजीको पक्षमा फैसला यी र यस्तै कयौं दृश्यहरू उसका आँखा अगाडी नाच्न थाले । यो निर्णयमा उसले रुखको दोष देखेन कारण, रुखले सबैलाई समान व्यवहार गरेको थियो ।

विगतमा रुख भएको ठाउँमा एकटक अडिरहेका मेरा आँखाबाट आँसुका थोपाहरू मेरा हत्केलामा तपतप झरिरहे । जब वडा अध्यक्षले “नमस्कार दाइ !” भने तब मात्रै मैले थाहा पाएछु, म त मेरो मनसँग पो कुरा गरिरहेको रहेछु ।

“यहाँ रुखको सालिक बनाउन नगरपरिषद्ले एक करोड विनियोजन गरेको छ ।” वडा अध्यक्षले गर्भका साथ मलाई सुनाउँदै थियो ।