कार्यकक्षको शानदार झ्यालको पर्दा झुण्डिरहेको रहेछ । बाहिर मौसम कस्तो छ ? हाकिमसापलाई कौतुहलता जाग्यो । एकक्षण तथा लाग्यो कुर्सीबाट उठेर पर्दा सारुँ । तर आज आलस्यले सताएको छ ।

हाकिमसापले कलिङ बेल दब्नुभयो “ट्रिङ ट्रिङ” । ३० सेकेण्ड भित्रमा टोपी सिधा बनाउँदै रामुजी आइपुगे ।

“हजुर हाकिमसाप ।”

“के गर्‍या यार रामुजी, अफिस आएपछि यो पर्दा सर्दा मिलाउन पर्छ, झ्याल-स्याल खोल्न पर्छ । हेर्नु त कोठा नै कस्तो गुम्म भाछ । बाहिरको फ्रेस हावा आछैन । सफोकेट भएर मरिन्न यार ?” हाकिमसापले नरम भाषामा थर्काउनुभो ।

“हजुर गरेँ हजुर ।” रामुजीले हतारमा झ्यालको पर्दा सारे । झ्यालको सिसा सारे । “बाहिर अलि चिसो छ हजुर । हजुरलाई फेरी चिसोले समातिहाल्छ । त्यै भएर हजुर ।”

“तातो पानी ल्याऊँ कि  हजु र?”

“नत्र कफी ल्याउँछु हजुर ?”

“तातोपानीमा जडीबुटी घोलेर ल्याऊँ की हजुर ?”

रामुजीको धाराप्रवाह अनुरोधले हाकिमसाप द्रवीभूत भए । लाग्यो यसपालिको वर्ष सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार यै रामुजीलाई दिऊँ ।

तर उर्वर्शीजीलाई वचन गैसकेको छ ।