उसले चुनावी नारा गरिबी र बेरोजगारीको अन्त्य  राख्यो  । उसलाई महानगरका गरिब, बेरोजगार प्रवासीहरूले आफ्नो अमूल्य मत दिएर विजय गराए ।

किशन पौडेल

सर्वप्रथम उसले महानगरको सौन्दर्य बिगार्ने र गरिबी झल्किने झोले, माग्ने, फुटपाथेहरूका डोका, डाला, नाङ्ला, ठेला, गाढाहरू जम्मै सडकबाट सोरेर आगो लगायो र महानगरलाई गरिबीमुक्त सहर घोषणा गर्‍यो । सडक पेटीबाट जीविकोपार्जन गर्ने निम्नवर्गहरूलाई ठुलो संकट आइलाग्यो र तिनीहरू बिस्तारै सहरबाट पलायन हुँदै गए।

उसले महानगर भित्रका झुपडीहरूले सहरको सौन्दर्य विकृत भएको देख्यो । झुपडबस्तीहरू बुल्डोजर लगाएर सफाचट बनायो र महानगरलाई  सुन्दर, समृद्ध नगरी घोषणा गर्‍यो । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने  श्रमिक मजदुर वर्गहरूलाई गाँस र वासको संकट आइलाग्यो र तिनीहरू पनि बिस्तारै महानगरबाट विस्थापित हुँदै गए ।
श्रमिक,मजदुर, गरिब निम्नवर्गहरूबाट मुक्त महानगरभित्र अराजकता,असन्तुष्टि र मानसिक कुरूपताले उग्र रूप लिँदै गयो । समस्याहरूको पहाड विकराल रूपमा खडा हुँदै थियो ।
उसले यस पटक भने चुनावको नारा परिवर्तन गर्‍यो।
महँगी,भ्रष्टाचार र सुशासन  ।