न्यायाधीशको पदभार ग्रहण गरेपछि उनलाई श्रीमतीले चिन्तित भएर सोधिन्, ‘श्रीमान् सम्माननीय न्यायाधीश ज्यू, हजुरले अब कसरी दूधका दूध पानीका पानी छुट्याई निसाफ गर्नु होला र ? यसको ठ्याक्कै विधि पनि त छैन होला ? कतै हजुरको फैसलाले न्याय पाउनु पर्नेलाई अन्याय त पर्न जाने छैन ?’

श्रीमान् न्यायाधीश ज्यू मुसुक्क हाँसे तर श्रीमतीले आफ्नो भावभङ्गी नदेख्दै गम्भीर मुद्रामा बोले, ‘अहो मेरी प्राण प्यारी ! न्याय पाउनु  पर्नेलाई कहाँ अन्याय पर्न दिनहुन्छ र ? र त न्यायालयमा दूध र पानी छुट्याउने कसी छन् । त्यसका पहिलो कसी हुन्– जसले ढङ्ग पुर्याएर न्यायालयका मठाधीशको सेवा पुर्याउँछन्, उनी न्यायबाट वञ्चित हुने कुरै भएन ।’ श्रीमान् न्यायाधीश ज्यू यसरी बोलिरहँदा श्रीमतीले पुलुक्क हेरिन् । उनले त्यहाँ देखिन् श्रीमान् न्यायाधीश ज्यूको पहिरन कात्रो जस्तो थिएन र त गोजीहरू फरफराइ रहेका थिए ।

‘दोस्रो कसी हुन्’ श्रीमान् न्यायाधीश ज्यू बोल्न थाले, ‘जो शक्तिमा छन् । न्यायालयका मठाधीशले अन्याय गर्ने भन्ने कुरै भएन ।’

श्रीमान् न्यायाधीश ज्यूतिर फेरि श्रीमतीले पुलुक्क हेरिन् र देखिन्– पृष्ठभूमिमा दुवै आँखा बाँधिएकी एक महिला तराजु उचालेर बसिरहेकी छिन् ।

हातमा ‘आदेश’का घन पक्रेर कुर्सीमा विराजमान श्रीमान् न्यायाधीश ज्यू भने पावरवाला ठुलठुला चस्माका सिसाबाट दायाँबायाँ नियालेर गजधम्म फुलिरहेका छन् ।