अवस्था

“गुरुजी छिटो अगाडि बडाउनुस् न । उहाँलाई अझ गाह्रो भए जस्तो छ ।” एम्बुलेन्सको पछिल्लो सिटबाट गुहार्छिन् बिरामीको श्रीमती । बिरामीलाई भने अक्सिजन लाइएको छ ।अवस्था निकै जटिल छ ।

“होइन कसरी जानू, हेर्नुस् त सडकमा जुलुस ।” एम्बुलेन्स चालक उत्तर दिन्छन् ।

“हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ।” सडकमा भीडहरूले नारा घन्काउँदै छन् ।

अर्को हुलको नारा त्यही वातावरणमा मिसिन्छ, “लोकतन्त्र जिन्दाबाद राजा हामीलाई चाहिँदैन ।”
सडकमा प्रहरीहरू पनि बाक्लो सङ्ख्यामा उपस्थित छन् । एम्बुलेन्सको साइरन अझ जोडजोले घन्किन्छ तर जुलुसको आवाजमा कतै दबिन्छ।

“म प्रहरीलाई बिन्ती गर्छु है” भनी बिरामीको युवा छोरा एम्बुलेन्स छाडेर सडकमा निस्कन्छन् ।

दुई समूहबाट ढुङ्गा प्रहार हुन्छ । दुई समूहको झडप नियन्त्रण गर्न प्रहरीको लट्ठी चार्ज गर्न थाल्दछ।

दुवै समूहको भीड तितर बितर हुन थालेकोले एम्बुलेन्स अघि बढ्छ । इमर्जेन्सीमा लगिन्छ बिरामीलाई ।

सडकमा भएको झडपमा परी घाइते बिरामीहरूलाई पनि अस्पताल ल्याइँदैछ । अस्तव्यस्त छ अस्पताल ।

एउटा स्टेचरमा रगत पच्छे बिरामी ल्याइन्छ । त्यो बिरामी अरू कोही नभएर प्रहरीलाई बिरामी बुवा बोकेको एम्बुलेन्स छोडिदिन निवेदन गर्न जाने छोरा हुन्छ । छोराको अवस्था देखेर  आमा डाँको छाडेर रुन थाल्छिन् । एकातिर श्रीमान् अर्कोतिर छोरा बडो गम्भीर ।

केही बेरमै अस्पतालको कर्मचारीले आवाज लाउँछन्, “राजा बहादुर नेपालीको मान्छे को हुनुहुन्छ ?”

हतार हतार “म उहाँको श्रीमती” भन्दै जान्छिन् ।

डाक्टरले गम्भीर मुद्रामा भन्छन्, “लाखौँ प्रयत्न गर्दा पनि राजाजीलाई बचाउन सकिएन ।”

आँखाबाट आँसु बरर झर्छ । शब्द अनायास अड्किन्छ । एउटै वाक्य निस्कन्छ, “अनि छोरा लोक बहादुर नेपाली ?”

डाक्टर भावुक हुँदै उत्तर दिन्छन्, “आफैलाई सम्हाल्नुहोस् आमा उहाँको अवस्था गम्भीर भए पनि बचाउन सकिन्छ ।”