“… भट्ट्याउन जान्दिन बा !”

“मनले दिनुस् बजै, भइहाल्छ नि !”

“ल, राम्रो होस् । रोगव्याध नलागोस् । सुख, सन्तोष मिलोस् । दुर्गा भवानीले रक्षा गरुन् ।” जमरा सिउरिदिँदै भगवतीले आसिक दिइन् ।

“लिनुस् ।” पटुकाबाट निकालेर चार कोसा केरा दिँदै बेलीमायाले ढोग गरिन् ।

“किन ल्याउन पर्थ्यो !”

“दाँत नभा’ मान्छे, अर्थोक खान सक्नुहुन्न ! अनि ?”

“बारीमै फल्या’थ्यो ?”

“आफ्नाँ’ त जेठाजुका चुलेत्रा’ सेपले किन हुन दिन्थ्यो !”

“त्यो पनि पिराहा नै छ त नि !”

“भएका बोट गमाराले सिद्ध्यायो । पर्म तिरौँला भनेर झम्कीसँग दुई हाता माग्या’थेँ । त्यै पोल्टाँ हालेर आएको ।”

“केटाकेटी आउँदैनन् ?”

“मामाघर पुगेर आउँछौँ भन्दै उता लागे । फर्कँदा पस्लान् नि !”

“उता दच्छिना पाउँछन् । म बुढीकाँ क्यै न क्यै ! … गोरस नि छैन । तिम्लाई नि के दिऊँ बा ?”

“आशीर्वाद पाइहालेँ नि !

“खाली मुख हुँदैन । लाऊ ।”

“झन् खानुहुन्छ भनेर ल्याइदेको, मैलाई दिनु भयो । … अनि नन्द, देवर कोही आउनु भएन बजै ?”

“बेला त छ । भरेसम्म आइहाल्छन् कि !” भगवतीका धमिला आँखाले तगारासम्म नियाले ।

किरिङ् किरिङ् …, कुरा गर्दागर्दै घण्टी बज्यो ।

“हेलो …, क्यै सुनिन !” हात कमाउँदै चोलाको खल्तीबाट मोबाइल झिकेर भगवती बोलिन् ।

“उल्टा भयो । यता फर्काउनु न बुढिमाउ !”

“जान्दिन त नि !”

“आमा …” उताको आवाज सुनियो ।

“भाग्यमानी बाबु ! सन्चै छौ ? मान्छे आउला भनेको फुन पो आयो ?”

“… नासो ? पा’छै । ल्याइदेलान् नि ! तिमी किन नआ’ त बा ?”

“… डिउटी छ रे ? दशैँमा पनि ?”

“परदेशमा केको दशैँ, केको तिहार आमा !” हृदमले फोन काट्यो । भगवती भक्कानिइान् ।

क्याल्गरी, क्यानडा