भूकम्प लगत्तै जाँचकी पठाइयो । सर्वदा गाउँपालिकामा मात्र १३२ जनाको घर चर्केको पाइयो । सुब्बासाबले कार्यालयमा पेश हुनु अघि नै आफ्नो गाउँको समेत तथ्याङ्क हेरे । दुईतीन जनाको नाममा कैफियत चिन्ह लगाए र अन्तिम नामावली पेश गरियो ।

एक महिनापछि राहत टोली गाउँगाउँमा आयो । त्यहाँ श्रीप्रसाद, गोपी, भूमेश्वर बाहेक अन्यलाई राहत दिइयो । राहत नपाउनेहरू अध्यक्षसित झोक्किए । अध्यक्षले भने, ‘मैले १३२ घरको नामावली पठाएको थिएँ ।’

कार्यालयमा उजुर गरियो । संयोजकले जाँचकीसित सोधखोज गरे । जाँचकीले भने, ‘सुब्बासाबले एक एकलाई चिन्नु हुँदो रहेछ ।’

उत्निखेरै संयोजकले ढड्डा पल्टाएर हेरे, ‘श्रीप्रसादको धुरीको ढुङ्गा खसेको । भूमेश्वरको पुरानो गारो चर्किएको, गोपीको घरको घरको गजुर कोल्टिएको ।’

सुब्बासाबसित स्पष्टीकरण लिइयो । उनले भने, ‘राहतमा नपरेकाहरूलाई पनि म बच्चैदेखि चिन्दछु ।’