मेरो अत्यन्तै मिल्ने मित्र हो प्रवेश । दुवै एउटै बोर्डिङमा पढाउँथ्यौँ । साह्रै रमाइलो मान्छे, सदा हँसाइरहने । विद्यार्थीहरू माझ अत्यन्तै लोकप्रिय । खेलकुद, सङ्गीत र विषयवस्तुमा अत्यन्त अब्बल । सबैलाई अत्यन्तै माया गर्ने, उनको यही रमाइलो स्वभावले गर्दा म उनीसँग निकै नजिक थिएँ । तलब कम तर सन्तुष्टि धेरै, गुडिरहेकै थियो जीवन रथ ।

प्रायः तलब आउने दिनमा हाम्रो टोली रमाइलो गर्थ्यौं । प्रवेश र म नछुटिने साथी हाम्रो खर्च गर्ने दिन पनि त्यही एक दिन त हो नि । तलब आएको भोलिपल्ट बेलुकासम्म हाम्रो तलब त पुलिसको आवाज सुनेर जुवाडेहरू भागे झैँ लाखापाखा लागिसक्थ्यो । पर्सिपल्ट पुनः सापट खोज्दै हिँड्यो, जिन्दगी त यसरी नै कुदिरहेको थियो हाम्रो । खै पैसा त हामीसँग डराउँथ्यो कि ? साथमा बस्नै नमान्ने ।

जीवन न हो सधैँ एकैनास कहाँ हुन्छ र प्रवेशको विवाह भयो । छ सात महिना पूर्ववत् नै चल्यो जिन्दगी । बिस्तारै उनमा परिवर्तन देखिन थाल्यो, गीत गुनगुनाउन छाडे । मलाई अचम्म लाग्थ्यो कति चाँडै परिवर्तन हुन्छ मान्छे ।

मलाई अचम्म लाग्यो एक दिन सोधेँ के हो सर,  अचेल त रमाइलो कहाँ गायब भयो ? भाउजू आएसँगै रमाइलो पनि हिँड्यो कि क्या हो ? उनी भन्थे बाध्यता, स्कुलको तलबले नपुगेको गुनासो र परिवार धान्नु पर्ने बाध्यताको कुरा गर्दै थिए । सायद स्कुल छोड्छु होला भन्दै थिए । मैले प्रिन्सिपलसँग कुर राख्न भनेँ ।

भोलिपल्ट कुरा राखेछन् । निन्याउरो अनुहार देख्ने बित्तिकै थाहा पाएँ तलब बढेन भन्ने कुरा । केही दिनपछि स्कुल आउन छाडे । म एक्लो महसुस गर्थे । विद्यार्थीले आन्दोलन गरे तर प्रशासनले सुनेन ।

दुई महिनापछि प्रवेश मेरो घरमा आए । पर्सि दुवाइको फ्लाइट छ राम्रोसँग बस्नु है भने । मैले नेपालमै कसेर दुःखसुख कटाउने बारे भनेँ, उनले बाध्यताको कुरा गरिरह्यो । कुरै कुराको क्रममा किन हो कुन्नि मेरो मुटु गाँठो पर्‍यो ।  अनि मुटु फुट्ला जस्तो भयो । म एक्कासि भक्कानिएर रुन पुगेछु । उनी कति बेला गए थाहा पाइनँ ।

मेरो साथी जो बाध्यताले बिदेसिँदै थियो ।