
साँझ घुमफिर गर्दा खाजा खाऊँ भनेर यौटा सामान्य चिया पसलमा पस्यौँ । भित्र किराना पसल र बाहिर खाजापानी खाने केही टेबल ,बेन्चहरू थिए । त्यहीँ बस्यौँ । साथीले चिया र सितन (चुरोट) मागे, मैले समोसा र जेरी । पसले टिल्ल रहेछन् । लर्बरिँदो बोलीमा निकै पूरानो चिनजान जस्तो ढङ्गले कुरा गरे । मैले पनि उस्तै तवरले कुरा गरेँ(चिनजान हैन) । भित्र पसलमा महिलाहरूको मधुरो आवाज आइरहेको थियो ।
पसले दाइले फ्याट्ट ५० को नोट दिँदै भने, “भाइ एक गिलास रक्सी माग्नुस् न यो पैसा दिएर । मलाई उनी पसले हैनन् कि जस्तो लाग्यो ।
भनेँ, “हैट ! माग्दिन । आफैँ माग्नुस् ।”
भित्र सासू छिन् । बुढीले मलाई दिन्न । तपाईं माग्दिनुस् र आफ्नो टेबलमा राख्नुस् । म स्वाट्ट पारेर साग काट्छु ।
मैले त्यो ५० लिएर उनकी श्रीमतीसँग एक गिलास मागेर टेबलमा राखेँ । रु २० फिर्ता आयो ।
उनले स्वाट्ट ३ घुट्को जति पिए र गीलास मेरै अगाडि राखे । एसो उसो काम गरेजस्तो पनि गर्दैछन् । सायद भित्रकाहरूलाई काम गर्दै गरेको भान पार्न होला । फेरि मसम्म आएर गिलास समाउन लाग्दा फुत्त श्रीमतीजी बाहिर निस्किइन् । झटपट मैले गीलास उठाएँ । बचे ट्वाँकमाष्टर ।
साथी भन्छ, “बबी देवल रक्सी खाँदा मिठाई हुन्छ नि सितन ।”
भातैमा मुछेर खाएपनि के गर्नु छ र ! बबीसँगै बसेर रक्सीमा लड्डु नै चोपेर लतारेजस्तो गफ दिहाल्यो ।
सोधेँ, “के-को रक्सी हो दिदी यो ? निकै मीठो रैछ । आफैँ बनाउनुभा कि गाउँबाट ल्याइदिन्छन् ?”
पुलुक्क हेरिन् मात्र, केही जवाफ दिइनन् । उनले श्रीमानतिर पनि हेरिन् ।
दाइले बुढीले सुन्ने गरी मलाई सोधे, “मासु भुट्दिऊँ ?”
मुला खराने नाटक माथि नाटक गर्छ । यसको भट्टी त थिएटर नै हुन्छ कि के हो ! उता बुढीलाई थाहा भैसक्यो जस्तो छ…यता साथीले हाँसो फुत्काउनै लागिसक्यो । हत्तेरिका ! के आइलाग्यो मलाई यो !
उनी भित्र गइन् दाइले एक निमेष ढिलो नगरी सानी छोरीलाई चक्कु कता परेछ छोरी भन्दै खोजेझैँ गर्दै आएर एकै श्वासमा सर्लक्क सिध्याए ।
जे भएपनि पैसा मैले नै दिएकोले बुढीलाई लाग्यो…रु ३० कमाएँ ।
बुढोलाई लाग्यो… बुढीलाई झुक्याएर रमाएँ ।
आफ्नै पैसा, आफ्नै दारु । नाफा भयो कि घाटा ? अनि उपकार गरियो कि बिगार ?
म सोच्दैछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

