“लौ, भागौँ भागौँ !”

एक्कासि कोलाहल मच्चियो। मान्छेहरू दौडादौड गर्न थाले। कोही पल्टिए,कोही पल्टिएकाहरूलाई कुल्चदै दौडिए। बच्चाहरू रोइरहेका थिए। वृद्धवृद्धा र शारीरिक अशक्तता भएकाहरू त्यसै अन्यमनस्क थिए।

आ-आफ्नो गन्तव्यमा पुग्नको लागि झोलाझाम्टा बोकेर विमानस्थलमा प्रतीक्षारत रहेकै बेला आएको थियो भूकम्प। धर्ती बेतोडसँग हल्लिएको थियो। भाग्न खोज्नेहरू पनि भाग्न नसकी लडिरहेका थिए। सब अस्तव्यस्त भयो। बाहिर निस्कने ढोकाहरूमा मान्छेको तँछाडमछाड भैरहेको थियो।

के गर्ने, कसो गर्ने? कसैले केही सोच्नै सकिरहेका थिएनन्। जसरी हुन्छ बाहिर निस्कनमै सबैको ध्यान थियो। त्यसैले बाहिर निस्कने ढोकामा माहुरीको गोलामा माहुरी झुम्मिएको प्रतीत हुन्थ्यो।

मेरो आँखा झट्ट ‘आपतकालीन द्वार’ लेखेको ठाउँमा पर्यो। म त्यतै दौडिएँ।

खोल्न खोजेँ, द्वारमा फलामे साङ्लाले बाँधेर ठूलो ताला झुण्डाइएको थियो।