“जाऔँ न हो गुरुजी, अब त अति नै भैसक्यो” निकै बेर बसको सिटमा बसेकी एउटी युवतीले च्याठ्ठिँदै भनी ।
“पर्खनु न, अर्को गाडी आएपछि गइहालिन्छ नि !” गुरुजी अलि शान्त भई बोले ।
“होइन, निकै बेर भो त रोकेको, जाऔँ न है अब” युवती फेरि बोली ।
गुरुले सुनेको-नसुन्यै गरे ।
त्यो बिसौनीबाट सानो ठिमी, पेप्सीकोला, कोटेश्वरतिर जाने अरू यात्री पनि उत्तिकै हतारिएका थिए तर गुरुचाहिँ पछाडिको गाडी नआउन्जेल त्यहाँबाट चल्नेवाला छैनन् भन्ने कुरा त्यहाँका सबैले बुझेका थिए । आफूबाहेक अरू कोही नबोलेपछि युवती रिसाउँदै त्यहाँबाट ओर्ली । ऊ ओर्लनासाथ अर्को गाडी आयो तर रिसाएकी युवती पछिल्लो गाडीमा गएर बसी । अघिल्लो गाडी चलिहाल्यो ।
पछिल्लो गाडी पनि उत्ति नै बेर रोकिएपछि युवतीलाई झन्का छुट्यो । ऊ त्यहाँबाट पनि जुरुक्क उठी । यसै पनि अघिल्लो बसको मेख मार्न पछिल्लोमा चढेकी ऊ बदलाको भावमा थिई त्यसैले उसले त्यहाँ रोकिराखेको ट्याक्सी चढी र अघिल्लो बसलाई उछिन्ने इसारा गर्दै त्यहाँबाट हुइँकिई । साँझ झमक्कै परिसकेको थियो ।
कोटेश्वर पुग्दा ट्याक्सी पनि जाममा फस्यो । यो जाम सामान्यभन्दा फरक जाम थियो । बिचरी युवतीलाई कहाँ पुग्नु थियो, त्यो त अघिल्लो बसका गुरुजीले बुझेनन् । उनी आफू पनि निकै लामो जाममा फसेका थिए तर ट्याक्सीमा चढेर आफ्नो मेख मार्न खोजेकी ती युवती आफूभन्दा पछाडि परेको देखेर ती गुरु निकै गद्गद थिए । १९१
हरिप्रसाद गौतम,
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।