“खाली बोत्तल, पुराना कागज ।” “बेच्नुस् हजुर प्लास्टिक, फलाम टुकडा, बिग्रेको मोबाइल ।” भाका हाल्दै कवाडीवाला आएको प्रष्ट सुनियो ।
छोरो निशान्तको भर्खर परीक्षा सकिएको थियो । उसका थोत्रा कापी किताबको चाङ थियो । टुटेफुटेका बाल्टी, जग, बाटा आदि प्लाष्टिकका भाँडाहरू पनि एक कुनामा थुप्रिएका थिए । बिग्रिएका दुई थान मोबाइल पनि दराजमा यसै रहेका थिए ।
कवाडीवालाको आवाजले निशान्त उत्साहित भयो । ती सबै सामग्री जम्मा पारेर तल गेटमा पुग्यो ऊ ।
“नाइँ हजुर साठ रुपैयाँ भन्दा बढी पर्दैन यसको ।” कवाडीवाला भन्दै थियो ।
“हुन्न हुन्न, सय रुपैयाँ भन्दा कममा दिन्न म ।” निशान्तले अड्डी कस्यो ।
“सत्तर दिइहाल्छु हजुर ।” उसले फकाउँदै थियो ।
दुवैको बातचितले मलाई पनि तान्यो उतैतिर ।
थोत्रो साइकलमा पुराना बोराहरू झुन्डाएको ऊ, पसिनाले लतपत थियो ।
“हेर त ऊ थाकेको, तिर्खाएको होला । जाऊ पहिले फ्रिजबाट एक बोत्तल पानी ल्याएर देऊ । अनि भाउताउ गरौंला नि ।” मैले छोरालाई अह्राएँ ।
निशान्तले पानी ल्याएर उसलाई दियो ।
चिसो पानी पिएर उसको अनुहार उज्यालियो ।
“ऊ नआएको भए तिम्रो यो सबै सामान नगरपालिकाको ट्याक्टरलाई दिनु पर्थ्यो । उसलाई त उल्टो हामीले मासिक पैसा तिर्नुपर्छ । त्यसको सट्टा यो भाइले सित्तैमा लगिदिन्छ त टन्टै साफ भयो नि । किन बेकारको गलफती गर्छौ ?” मेरो कुराले उसलाई छोयो शायद निशान्त मौन भयो ।
कवाडीवालाले सबै सामान बोरामा हाल्यो ।
अनि मीठो मुस्कान सहित “राम राम हजुर !” भन्दै साइकलमा हुइँकियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 










