१. पहिलो लघुकथा
नाक
(दिव्य गिरी)
ऊ छोरोलाई तेल घसिरहेकी थिई । बच्चा भर्खर छ महिना पुगेको थियो । मखमली पनि आएर छेउमै बसी । आज नेपाल बन्द भएकोले ऊ काममा जान सकेकी थिइन । उसले भनी–‘दिदी यो बाबुको नाक अली चुच्चो रहेछ ।’
मखमलीको कुरा सुनेर उसले मखमलीतिर कर्के नजरले हेर्दै भनी ‘तँलाई कति जान्नी हुनु परेको । नाक चुच्चो त हुन्छ नि ।’
‘अँ भनेको माथि बस्ने विवेक सरकोजस्तै पो छ त’ मखमलीले फेरि भनी ।
उसलाई मलमलीको कुरा सुनेर झन रिस उठ्यो । अनि झर्किँदै भनी ‘तँलाई आउँदो रहेछ कुरा । कति न जान्नी भएकी । तेरो नाक पो थेप्चो छ त । जन्मने बित्तिकै मुड्कीले थिचेजस्तो ।’
मखमलीले आफ्नो नाक छामी अनि बच्चाको नाकमा यसो छोएकी मात्र थिई बच्चा च्याँ…गरेर रोयो ।
‘लौ हेर, नाकै निमोठी दिई ।’ भन्दै मखमलीको पिठूँयमा प्याट्ट हिर्काई र छोरोलाई काखमा लिएर दूध चुसाउन थाली ।
सुत्केरी भएको भोलिपल्ट नै कतारमा रहेको लोग्नेले फोनमा सोधेको थियो ‘छोरा तँजस्तो छ कि मजस्तो ?’
‘छोरा पनि आमाजस्तो हुन्छ ? काटिकुटी तपाइँजस्तै छ नि ।’ जवाफ सुनेर लोग्नेचाहिँ निकै खुसी भएर हाँसेको थियो ।
तर आज मखमलीले उसको मन खिन्न पारिदिई । छोराको नाकको कुरा गरेर । हुन त उसलाई पहिले पनि छोराको नाक देखेर कस्तोकस्तो लागेकै थियो । आज विवेकको अनुहार, आँखा र नाक सम्झिन थाली ।
यतिकैमा घरबेटीआमा पनि आइपुगिन् ।
‘ए, नानी त्यसरी बच्चालाई दूधमा धेरै टाँसेर दुध ख्वाउनु हुन्न । नाक थेप्चिन्छ ।’
पहिलो छोरो थियो । उसलाई के थाहा यस्ता कुरा ।
उसले घरबेटी आमालाई हेरी । अनि मुसुक्क हाँसी ।
‘किन हाँसेको दिदी ?’ मखमलीले सोधी ।
‘तँलाई किन चासो ?’ यति भन्दै ओढनेले छाति छोपी अनि पहिलेको जस्तै टाँसेर छोरालाई दुध चुसाउन थाली ।
(गोरखापत्र संस्थानले २०७३ सालमा पहिलो चोटी राष्ट्रव्यापी खुल्ला लघुकथा प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगीतामा लघुकथाकार दिव्य गिरीको यही कथा “नाक” प्रथम भएको थियो ।
लघुकथाकार दिव्य गिरीको जन्म २०११ सालमा ललितपुरमा भएको हो । उहाँ ३० को दशकदेखि नै कृयाशील लघुकथाकार हुनुहुन्छ । कथा र पात्रभित्र स्वैरकल्पना मिसाएर वर्तमान परिवेश स्पर्श गर्ने लघुकथाहरू लेख्न स्रष्टा दिव्य गिरी खप्पिस हुनुहुन्छ । उहाँको लघुकथा संग्रह “भेडीगोठ र भेडो” सहित अन्य विधाका सात संग्रहहरू प्रकाशित छन् । आधा दर्जन साहित्यिक संस्थाहरूसंग सम्बन्धित दिव्य गिरी २०३६ सालको “कविता क्रान्ति”का एक योद्धा पनि हुनुहुन्छ ।)
२. स्वर्णकालीन लघुकथा
अचुक औषधि
(इन्दिरा प्रसाई)
गर्मीको उखरमाउलो दिनपछिको एक रात हामी आमाछोरा छतमा उत्तानो परेर एकनास आकाश ताकिरहेका थियौँ । रातको प्रथम प्रहर बित्नै लागे पनि न उसका आँखामा निद्राको झप्को थियो न मै निदाउन सकिरहेकी थिएँ । ऊ असङ्ख्य प्रश्नको पेटारो बोकेर जिज्ञासाका भारले तुल्बुलिरहेको थियो भने म चेतनशीलताको मारले छटपटिएर अनिद्राग्रस्त थिएँ ।
‘आमा ! संसार कल्ले बनाको ?’
‘भगवानले’
‘भगवान् कहाँ हुनुहुन्छ ?’
‘आकाशमा’
‘मान्छेलाई’ नि कल्ले बनाको ?’
‘भगवानले’
‘अनि घर, पङ्खा, रेडियो क्यासेट, औषधि, रेल, मोटर, हवाइजहाज, छापाखाना, सिनेमा, बन्दुक, भिडियो, टेलिभिजन, कम्प्युटर, रोबट ती सबै कुरा नि ?’
‘मानिसले’
‘हामीजस्तै मानिसले ?’ उसले आश्चर्य व्यक्त गरेर सोध्यो ।
‘हो’ मैले लामो निश्वास लिएर जवाफ दिएँ । ’ उनीहरूलाई वैज्ञानिक भनिन्छ, जो हामीजस्तै मान्छे हुन् ।’
त्यसपछि केही बेरसम्म उसले कुनै प्रश्न गरेन, मैले ठानेँ ऊ निदायो होला । तर केही बेरपछि नै उसले पुनः आफ्नो जागापनको परिचय दियो ।
‘आमा ! म ठूलो भएपछि वैज्ञानिक बन्छु है ?’
‘हँ ! ‘ के भनेको रे ?’ मैले केही झस्किए झैँ भएर सोधेँ ।
‘क्या नि, म ठूलो भएपछि नि, त्यस्तै वैज्ञानिक बन्छु भनेको ।’
‘ए ‘ के आविश्कार गर्छौ त ?’ मैले ठट्टा गरेर सोधेँ ।
‘तपाईं भन्नुसन आमा ! मैले के आविष्कार गर्नू, सबै थोक त आविष्कार गरिसकेका छन् उनीहरूले, म के आविष्कार गरूँ गरूँ ?’ विचरो उसले अन्योलमा परेर भन्यो ।
हो उसले के आविष्कार गर्नुपर्ला ? मैले पनि झट्ट जवाफ दिन सकिनँ । उसले यो प्रश्न सोधेर मलाई नै सोच्नुपर्ने स्थितिमा पुर्याइदियो । साँच्चै विश्ववैज्ञानिकले संरक्षणदेखि संहारसम्म, जीवनदानदेखि मृत्युको भयङ्कर स्वरुपसम्म पुग्ने अनेकौँ बस्तुहरूको आविष्कार गरिसकेका छन् । हो सबै आवश्यकताहरूको परिपूर्तिका निमित्त आविष्कार भैसकेका छन् तर यतिका आविष्कारपछि पनि जहीँतहीँ किन अतृप्तिको भोक नै जागेर यत्रतत्र अशान्ति नै अशान्ति मच्चिरहेछ ? यही भोक मार्ने औषधिको आविष्कार मात्र भएको छैन ।
‘अब तिमीले व्याप्त अतृप्तिको भोक मार्ने अचुक औषधिको आविष्कार गर्न बाँकी छ ।’
मैले प्रत्यक्षतः उसलाई यति मात्र भनेँ । उसले अलमल्ल परेर मलाई हेरिरह्यो ।
कुन्नि भोलि उसले के गर्ला ?
(इन्दिरा प्रसाईं नेपाली लघुकथाको स्वर्णकाल मानिने ३० को दशकदेखि निरन्तर लघुकथा लेखनमा सकृय हुनुहुन्छ । उहाँका लघुकथाहरूले नारी संवेदनालाई छुदै समाजमा रहेको विसंगति र विकृतिमाथि चोटिलो प्रहार गर्दछ ।
उहाँ नइ प्रकाशनको एक जिम्मेवार सदस्य हुनुहुन्छ । थुप्रै साहित्यिक पुस्तक सम्पादन र लेखन गर्नु भएको स्रष्टा इन्दिरा प्रसाईको “बयान” लघुकथा सङ्ग्रह २०५५ सालमा प्रकाशित भएको छ ।)
३. मलाई मनपरेको लघुकथा
सजाय
(राजु क्षेत्री ‘अपुरो’)
आफ्नी फूल जस्ती अविवाहित छोरी दुई जिउ की भएपछि बाबु आमा छाँगाबाट खसेजस्तो भए । उसलाई केरकार गरियो । एकाएक आफू र परिवारमाथि आएको बेइज्जत सहन नसकेपछि उसले आत्महत्या गर्न पुगी । परिवारमा झन् अर्को ठूलो ब्रजपात भयो । रुवावासी चल्यो । यो दुई जिउ की बनाउनेको खोजतलासी गर्ने क्रममा आफ्नै घरमा भाडा लिएर बसेको एउटा युवक माथि सबैले शङ्का गरे । फलस्वरूप उसलाई सोधपुछ गरियो ।
“यसैले हुनुपर्छ , छोरीको कोठामा आइरहन्थ्यो” आमाले रुँदै कुरा खोलिन् ।
“सोझो देखेर केही भनिएन ,आज यो दुर्दशा देख्नुपर्यो” बाउ भक्कानिए ।
“ हाम्री बहिनीको जिन्दगी बिगार्ने र आज यो हालतमा पुर्याउने यही हो, ठोक सालेलाई” दाजुले आफ्ना समुहका केटाहरूलाई आदेश दियो ।
उसको नाक र थुतुनो कुच्याइयो ।
तैपनि ऊ कुटाइ खाँदै मुकदर्शक बनिरह्यो ।
अबभने सबैले “यसैले हो” भन्ने ठोकुवा गर्दै भने ‘अब यसको लिङ्ग नै काटेर दुई टुक्रा पार्नु पर्छ, बल्ल हाम्री छोरीको आत्माले शान्ती पाउनेछ ।’
सबैले हो मा हो मिलाए ।
हुकुम मान्नेहरू उसलाई सर्बाङ्ग नाङ्गै पार्दै गए । अब भित्री कट्टु खोल्न मात्र बाँकी रह्यो ।
खुकुरी उध्याइयो । अचानो तेर्स्याइयो । कट्टु खोल्नेले आदेश पाएपछि भित्री कट्टु पनि खोलियो । त्यहाँ उपस्थित सबै हतप्रभ रहे ।
तर त्यहाँ काट्नु पर्ने कुनै अङ्ग नै थिएन ।
(राजु क्षेत्री “अपुरो” ६० को दशकदेखि लघुकथा लेखनमा सकृय लघुकथाकार हुनुहुन्छ । सामाजिक यथार्थवादीधारमा रहेर लघुकथा लेख्न रुचाउने अपुरोको लघुकथामा व्यङ्ग र विद्रोह भेटिन्छ । “दिमागको बिर्को” लघुकथा संग्रह सहित अपुरोका अन्य ३ लघुकथा संग्रहहरू प्रकाशनमा आएका छन् । राजु क्षेत्री “अपुरो“ हाम्रो लघुकथा पाठशाला (फेसबुक ग्रुप पेज) को एड्मिन सदश्य पनि हुनुहुन्छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।