शान्तनारायण निर्दोषको विवाह १८ वर्षको उमेरमा नै भयो । १५ वर्षकी कन्या गङ्गासित ।

जमिनदार भरतनारायण सन्तोषको छोरा, भलाद्मी र शालीन, सरल र शान्त, गाउँमा नमुना । दुर्भाग्य, सात छोराहरू जन्मे, मरे, जन्मे, मरे, अर्को नयाँ उत्तरआधुनिक महाभारत जस्तो भयो ।

“होइन, यो त द्वापर युग र हस्तिनापुर दोहोरियो त, के हो ? जमिनदारको वारिस हुन्न कि क्या हो ? कसको निधारमा बत्ती बलेको छ ?” गाउँमा गफ ।

फेरि अर्को छोराको जन्म भयो । तर छोरो मात्र साथमा भयो जमिनदारको, गङ्गाले चोला बदलिन् ।

जमिनदारले आठौं सन्तान जोगाउन अनेक उपाय लगायो । धाई आमा, नर्स, चिकित्सक, अटुट घरमा ।  नाम राखियो ग्रीष्मनारायण विवेकी ।

“विवेकी” उसलाई सबैले गर्ने सम्बोधन । कलेज पुग्यो विवेकी ।

“सुरैया” – एक प्रियदर्शिनी गुरुमाको स्नेह पायो । साहित्यमा रुचि, नेपाली पढाउने सुरैया म्याडमले । आफ्नो पुत्रलाई जस्तै माया गरिन् सुरैयाले । यता विवेकीको पिता छोराको चिन्ता गर्दागर्दै आफ्नो बारेमा सोच्न भ्याएन । पचासको वयमा पनि तीसको चमक मुहारमा, तर निर्दोष तपसी बने । छोराको लागि आफ्ना भावनाहरूलाई बलिदान दिए ।

“अम्बिका – कुन्जरमणि” गठबन्धन भाइरल भएपछि विवेकीको मनले एउटा योजना बनायो । २८ को वयमा एकल बनेकी सुरैया म्याडमले पनि १७ बर्ष अयुग्म भएर तपस्या गरेकी ।

मार्ग एक, विवेकको पिताश्रीको जन्मदिन । घरमा भव्य भोज । कलेजबाट गुरुहरू र गुरुमाहरू र विवेकीको समकालीन साथीहरू आए ।

“साथीहरू, आज म मेरा पिताश्रीलाई एउटा खास उपहार दिन चाहन्छु । यहाँहरूको सामुन्नेमा यो शुभकर्म सम्पन्न गर्ने अनुमति माग्दछु ।” सन्नाटा ! सबैले विवेकीको अनुहारमा हेरे । सुरैया म्याडमको अनुहारमा दैवी चमक देखियो ।

“पिताश्री, नाइँ नभन्नू ल ! मेरो लागि हजुरले के के गर्नुभएन । मेरो पनि कर्तव्य हो, म कुनै देवव्रत त होइन, यहाँ दासराज पनि छैनन् । ग्रीष्मले भीष्म प्रतिज्ञा गर्नेछैन । पिताश्री यो डिब्बामा भएको पवित्र रातो धूलोले मेरी गुरुमा, हाम्री गुरुमा, मेरी हुनेवाली आमाको सिउँदोमा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

“ताली पररर । शुभकर्म सम्पन्न भयो ।”

“मङ्गलम् भगवान् …”

“दोस्रो विवाह यसरी गरेमा जोडीले थप तनाव बेहोर्न पर्दैन ।” क्याम्पसप्रमुख डिल्लीराम पोखरेलको कुरा ।

सात दिनपछि, हनिमुनको लागि जोडी सौराहा गयो । यो खबर पनि भाइरल भयो । विवेकको तारिफ दुनियाँले गरे ।