“ओहाे ! आज त निकै रमाइलाे पाे भाे त । कति फरासिला हुन् ती नानीहरू पनि ।” गाेविन्दले राम हेर्न जाँदा सँगै गएका युवतीहरूकाे बाेलीव्यवहार सङ्केत गर्दै भने ।

“अँ त नि, कति राम्रा हुन् । कपडा पनि कति च्याट्ट मिलाएर लाउन जानेका ! कपडा भनेर मात्र कहाँ हुन्छ र ! मिलाएर लाउन जान्याे भने त्यही राम्रो हुन्छ, मिलाउन नजाने बहुमूल्य भए पनि अशाेभनीय हुन्छ ।” प्रेमले आफ्नाे धारणा व्यक्त गरे ।

“मिलाएर सिलाउन जाने त कपडा धेरै कपडा पनि नचाहिने रहेछ त ।” छाेटा र कसिला कपडा लाएर राम हेर्न आएका युवतीतर्फ सङ्केत गर्दै प्रेमले थपे ।

दुवै जना रिडीमा माहिली संक्रान्ति नुहाएर फर्किए ।

दुई दिनकाे राम हेरेर फर्किएकाेले गाेविन्द लखतरान परेका थिए । साँझकाे खानपिन गरी उनी सुते ।

भाेलिपल्ट बिहानै गाेविन्द कुँडाेपानी गर्न गर्दै थिए । यत्तिकैमा बहिनी कहीँ जान ढाेकाबाट बाहिर निस्कँदै गरेकाे देखेर उनले भने “कहाँ हिँडेकी ?”

“राम हेर्न ।”

“कहाँ त ?”

“रिडी ।”

“भाे, भा जान पर्दैन ।” उनले आँखा ठुल्ठुला पार्दै भने ।

“ए ! हामीलाई राम हेर्न मन लाग्दैन ? नाइँ म त नगई छाेड्दिनँ । वाँ साथीहरूसँग सल्लाह पनि भा ‘ छ ।” उनले दैला ठेलामा उभिएकी आमातिर हेर्दै भनिन् ।

“हेर न यसकाे लवाइ । कस्ता कपडा सिलाएकाे यस्ताे ? एक बित्ताका कपडा लाएर राम हेर्न जाने ? कपडा लाएकाे कि धजाे चढाएकाे ?” उनले बहिनीलाई बेस्सरी झपारे ।