“गाई पाल्न थाल्नुभयो कि कसो रोहितजी ?” आउँदा आउँदै नवराजले सोध्यो ।

“के भन्न खोज्नुभएको ? मैले बुझिन नि !”

“एकाबिहानै कटहरको रुख चढ्दै हुनुहुन्छ । घाँसको डाला काट्न त होला नि ! नत्र किन यसरी सकिनसकी चढ्नुहुन्थ्यो भनेको नि !”

“ए, भनेपछि अब डेरामा बस्ने म जस्तोलाई गौपालक देख्न थाल्नुभयो हगि ? मजाकको पनि सीमा हुन्छ नि !”

“अनि किन रगताम्य हुने गरी तिघ्रा धसेर सुरेली खेल्नुभएको त ? फल टिप्नका लागि भनुँ भने सिजन होइन । बोट रित्तै छ ।” नवराजले अर्थपूर्ण प्रश्न गर्यो ।

“प्राक्टिस गरेको नि मित्र ! नत्र उपायै छैन ।” रोहितले जवाफ दियो ।

“हैन, के साँच्चै नेपाल मण्डलमा रुख चढ्ने प्रतियोगिता पनि आयोजना हुँदै छ र भन्या ? प्राक्टिसै गरेको भन्नुहुँदैछ त ?” नवराजले पुनः ठट्यौलो प्रश्न ग¥यो ।

“भोलि कीर्तिपुर मैदानमा नेपाल र भारतबिच क्रिकेट फाइनल हुँदै छ त ! तपाईंलाई थाहा छैन ?”