त्यतिबेला उनी सम्पूर्ण पेशाकर्मीहरूको नेतृत्व गर्दै जनआन्दोलनमा होमिएका थिए । गणतन्त्र घोषणा हुँदा उनको खुसीको सीमा रहेन । ‘अब दुःखका दिन सकिए’ भन्दै आफ्नो पेशामा व्यस्त भए । त्यस दिन एकजना क्यान्सरका बिरामीलाई मृत्युको मुखबाट बचाएर डेरा फर्कँदै थिए- सडकमा एउटा पनि सवारी साधन चलेको नदेखेर टङ्चिए । अनि साइकल डोर्याएरै फुटपाथबाट अघि बढे ।

“ओ भाइ ! साइकल किन चलाको ?” पिरिर्र सिट्ठी फुक्दै प्रहरी करायो ।

“घर जानलाई ।”

“चलाउन पाइँदैन ।”

“म अस्पतालको डाक्टर हुँ । बिरामीको अपरेसन सकेर घर जान लागेको ।” उनले आफ्नो परिचय र विवशता बताए ।

“धेरैकुरा गर्ने ? जान त के यहाँ उभिन नि पाइँदैन । ऊ त्यहाँ गएर बस्नू ।” प्रहरीले आकाशेपुल मुनीको कोप्च्यारोमा जान भन्दै उसलाई ठेल्यो ।

“कस्तो कुरो नबुझ्नु भएको !? भोकै छु । खाना खान जान लागेको !”

“अझ कराउँछस् ? डाक्टर न साक्टर ! … लौ जा !” प्रहरीले कन्चटमै लाठी बजायो ।

“ऐया नि ! मैले के गल्ती गरेको छु र हिर्काएको ?”

“… महारानीको सवारी हुँदैछ । तँलाई था’छैन ?”