राजा हुने रहर सबैको हुन्छ शायद ! त्यही भएर देशमा एउटा राजा स्थापित गर्नका लागि लाखौंले बलिदानी चढाएका इतिहास  पढ्न पाइन्छन् । यहाँ उल्लेख गर्न लागिएका राजा चयन गर्ने विधि अलिक फरक छ । हिजो लावण्य देशमा हात्तीद्वारा राजा छानिएको कथा पढेका हामीहरू यसका बारेमा जानकार नै छौँ । त्यस्तै गोरखाको लिगलिगकोटमा दौडिएर पहिलो हुने नै राजा हुने प्रथाका बारेमा पनि पढेकै हौँ ।

यहाँ भने पिँजडाजी सुगा उडेर जसको टाउकोमा गएर बस्छ उसैलाई राजा बनाउने निर्णय भए अनुसार टुँडिखेलमा आ-आफ्ना सुगा सहित उपस्थित हुन भनिएको छ ।

छनौट समितिको निर्णय अनुसार निवेदन दिनेहरूले घरमा सुगा नभए पनि बजारबाट सुगा ल्याएर रत्याएर पाले । जे खान्छ त्यही, जसो भन्छ त्यही मानेर मत्याएर राखे । अरू निवेदकहरू मध्ये आफूलाई अब्बल र पहिलो नम्बरमा उभ्याउने सरदार काजीले आफ्नो पिँजडाको सुगालाई दिनुसम्म तालिम दिएर अन्त कतै नजाने बनाए । अरूले पनि सकेको तालिम दिए ।

अन्ततः राजा छान्ने दिन आयो । एकपछि अर्को गरेर सबै आ-आफ्ना पिँजडाको सुगा सहित टुँडिखेलमा जम्मा भए । भाग लिनेहरूको मुहारको चमक देख्दा लाग्थ्यो, सबका सब राजा हुँदै छन् । जस्तो कि हिजो एउटा राजा फालेर अहिले सयौँ राजा झेल्नु परेको स्थिति विद्यमान छ हाम्रो देशमा ।

मञ्चमा विशिष्ट पाहुनाहरू राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको बाक्लो उपस्थितिका माझ देशमा नयाँ राजा छान्ने समय सुरु भैसकेको छ । टुँडिखेल बाहिर भने राजा आऊ देश बचाऊ भन्ने र गणतन्त्रवादीहरू बीच घम्साघम्सी पर्ने स्थितिलाई बलियो सुरक्षाले केही मत्थर पारेको आभास मिल्छ ।

समितिका प्रतिनिधिले मञ्चबाट परेवा उडाएर सुगाद्वारा राजा छान्ने प्रक्रियाको समय सुरु भएको घोषणा गरे सँगै अब के हुन्छ? र को राजा बन्छ? भन्ने कौतुहलताले सबैलाई रोमाञ्चित बनाएको छ । सबै प्रतिस्पर्धी उम्मेदवारहरू मञ्चको तल केही पर गोलो घेरा मिलाएर उभिएका छन् । सबैका सुगाहरू राजा छान्ने पर्खाइमा पिँजडाभित्रै कैद छन् ।

पिँजडा गोलो घेराको बिचमा राखिएका छन् । सरकारका प्रतिनिधिहरू आएर पालैपालो पिँजडा खोलेर सुगा छोड्दै गए । सुगाहरू भने तालिम दिँदा आफ्नै मालिकको काँधमा आएर बस्नुपर्ने बाध्यतालाई लत्त्याएर बल्ल मुक्त भइयो भन्दै उडेर भद्रकाली मन्दिरका वरपर रुखमा गएर बसे । निकै बेरसम्म बाटो हेर्दा पनि हजार भन्दा बढीको सङ्ख्यामा छोडिएका सुगा कुनै फर्किएनन् सबैको अनुहारमा निराशाको बादल छायो ।

त्यसैबिच सरदार काजीको सुगा फर्किँदै गरेको सरदार काजीले वरैबाट देखेर चिच्याए,… सुन्यौ तिमीहरूले अबको राजा म हुँ! ऊ हेर,… मेरो सुगा फर्केर मैतिर आउँदै छ । तिमीहरू सबको सुगा आउँदैनन् अब । हो अबको राजा मै हुँ यो देशको । नचाहेर पनि सबैले काजीलाई बधाई दिए ।

सुगा त आयो तर त्यो काजीको काँधमा नबसेर सँगैको एउटा दुब्लो पातलो मान्छे,(राजकुमार रम्तेल)जो उनै काजीको घरको सहयोगी कान्छा थिए, जसलाई काजीले आफू राजा हुँदै गरेको गतिविधि हेर्न आफूसँगै ल्याएका थिए, को काँधमा आएर बस्यो ।

त्यो देखेर सबै चकित परे । सधैँ काजीले भने अनुसार गोपीकृष्ण रट्दै आएको सुगाको यो हरकत देखेर काजी यसलाई नमारी छोड्दिन, यो त अति भो भन्दै जब सुगातिर झम्टिए ।

सुगा आकाशमा उड्दै बोल्यो, “काजीसाब ! म पो सोझो भएर आजसम्म तपाईँहरूको ज्यादती खपेर पिँजडाको बन्दी भएर बाँचेँ, जसरी आज नेपाली जनता सयौँ राजाहरूको ज्यादती चुपचाप सहिरहेछन् । मैले राजाकुमारलाई यसकारण छाने कि उसले तपाईँ नभएको समयमा सधैँ मलाई पिँजडाबाट छोडिदिन्थ्यो र मेरो उन्मुक्तिको चाहना राख्थ्यो । आज मैले उसको उपकारको गुन तिरेको मात्र हुँ । बधाई छ नेपाली जनतालाई जसले राजाकुमार जस्तो सबैको उन्मुक्ति चाहने राजा पाएका छन् ।”

यति भन्दै काजीको सुगा उडेर हावामै हरायो टुँडिखेलमा एउटै आवाज गुन्जियो राजा राजाकुमारको जय होस् । थाहा छैन बाहिरका गणतन्त्रवादी झुण्डको मनमा के बित्यो थियो ।