कुरा गर्ने खासै कोही छैनन् । मोबाइल बोक्नु पनि बेकार लाग्न थालेको छ, फोन कसैको आउने होइन । खल्लो र एक्लोपनको आभास भइरहेछ अचेल ।

अचानक हिजो एउटा नयाँ नम्बरबाट फोन आयो । तरकारी पकाउँदै थिएँ । बाबा फोन आयो भन्दै मोबाइलमा कार्टुन हेर्दै गरेको छोराले मोबाइल थमायो । उठाउनु कि नउठाउनु दोधार हुँदै फोन उठाएँ ।

“हाइ के छ ?” प्रश्न तेर्सियो ।

के छ को जवाफमा सुनाउन खास केही थिएन । कस्तो छ सोधेको भए सुनाउने थिए विगतदेखि वर्तमानको हाल । हाइ भन्ने बित्तिकै चिनिहालेँ, फोन उही खुसीको थियो । जसले मलाई दुःखी बनाएर छाडेकी थिई । झन्डै दशकपछि  उसले अचानक फोन गरिछ । सामान्य भलाकुसारी भए । दैनिक फोनमा घण्टौँ बोल्ने मलाई आज बोल्ने कुनै कुरै नभए झैँ भइरहेको थियो । बोल्न खोजेर पनि केही अड्केजस्तो भइरहेको थियो ।

कताबाट आज अचानक किन फोन गरी खुल्दुली भो ।

उसले भनी, “आज खुब मन दुखेको छ । मेरो मन खुब दुखाएको छ कसैले । मन दुखेको औषधि के होला ?”

म के भनौँ, वर्षाैंदेखि मन दुखाएर जानेलाई म कुन औषधी सुझाऊँ ।

आफ्नै मन घायल छ, मन बेचैन छ । मन दुख्दाकाे पीडा बल्ल महसुस गर्‍यौ ? देखाइको भन्दा भोगाइको पीडा अकल्पनीय हुन्छ नि !

भो पत्थरसँग मणिकाे अपेक्षा नगर ।

“संसारकै खुसी देशमा बसेर मन दुखेको कुरा नगर । बरु पठाइदेऊ न टुटेकाे मन जाेड्ने औषधी, दिल दुखेको मलम, विगत विस्मृतिको कुनै क्याप्सुल…” भनी नसक्दै फोन राखिसकिछ उसले।