प्रियदर्शिनी सानी नानीको चिया पसल छ बैकुण्ठ नगरको चोकमा । रिक्त दरबन्दी र प्रीत बागमा एक्ली चमेली महकिएकी हुनाले बहकिने मनका धनी भमरहरू अदृश्य प्रेम लिगलिग दौडमा भाग लिन बिहानै हाजिर, निहुँ चिया पिउने ।

नेत्रपान सानीको सौन्दर्य, दमित अभीप्सा । आज पनि जम्मा भए चालीसदेखि असीसम्मका खसीहरू, शशी दर्शनार्थ ! प्रोफेसर जगमोहन आजादको मितवा प्रोफेसर धर्मनारायण विवेकी, मोतीलाल शर्माको छिमेकी पनि यदाकदा पुग्दछ । विद्यावारिधि गरेको उनको चेलो विजय चौधरीको अनुरोधमा एक कप कफी या चिया पिएर, आफ्नो राय, कुनै विषय उठे, राखेर नौ दुई एघार हुन्छ । सत्यनारायण चौधरी, उनको चेलो, मान्छे असल, गुरु पाएपछि “खुशी लाग्यो” भन्ने, शुभारम्भका आरम्भ झलमल्ललेझैँ ।

लोकराज बराल, “यो गठबन्धनले धेरै गडबड गरेजस्तो लाग्यो !”

गोपी भान्जा, “उखाने प्रभुले माधवजी र प्रचण्डजीलाई धान्नुपर्ने थियो क्या ! नत्र न शेर लेखिन्थ्यो, न सीतापतिको आरजू पूरा हुन्थ्यो ।”

” लामो बहस चल्यो ।

प्रोफेसर जतिखेर पनि सत्यनारायण चौधरीको पक्ष लिने । चौधरीले जे भने पनि समर्थन गरिहाल्ने, झोक चलेछ गणेश खतिवडालाई, ” होइन छन्नु काकाले त सन्झोटे अन्टार्टिकालाई गुन लगाएको हो, प्रोफेसर साहेब किन छन्नुनन्दन सत्यको पक्ष लिनुहुन्छ ? हजुर त साझा मान्छे ? किन विजयाको देवरजी ?”

सबैले प्रोफेसरको अनुहार हेरे, उज्यालो, नितिश भारद्वाजको जस्तो ।

वासु ढुङ्गाना बोल्यो, “सरको धर्म हो यो । उहाँको विवेक हो । हाम्रो सर यो धरतीमा सत्यको पक्षमा बोल्न जन्मिनुभएको हो । सत्य तीतो हुन्छ, तर हाम्रो सर निडर, ढुक्कनारायण चौधरी, आस न त्रास, जाने वनवास ? उहाँ यो जुनी मात्र होइन, सात जुनीसम्म सत्यको पक्षमा  बोल्नुहुन्छ, लेख्नुहुन्छ । सरको धर्म यही हो । ”

गणेश मौन । चम्किलो अनुहार बनाएर प्रोफेसर साइबरतिर लाग्यो, चेलो वासुलाई आशीर्वाद दिएर ।