हरियो बत्ति पिलिक्क बल्यो । उठाएर हेरेँ । सन्देश रहेछ । आज दुई वर्ष भयो अलग भएको कानुनी रुपमा । सायद त्यति नै लाग्यो होला कानुनी छिनोफानो हुन । सायद चार वर्षपछिको प्रत्यक्ष सम्पर्क होला यो ।

“ जीवन फेरि जोडौँ न ल ।” उसको सन्देश थियो ।

ढाकामोहन बराल

रिस उठ्यो । पूर्व श्रीमानसँग के रिस देखाउनु । कुनै प्रतिक्रिया जनाउन मन लागेन । वाइफाइ बन्द गरेँ । एक वर्षअगाडि सुनेको थिएँ राकेशले नयाँ घर बसाल्न खोज्दै छ । म पनि त खोजीमा नै थिएँ तर एक पटक बिग्रेको हुनाले नयाँ सम्बन्ध जोड्ने निर्णय गर्न सरल थिएन मेरो लागि । कानुनले दिएको अधिकारबाट म माइतीको बोझ थिइनँ । साँझ वाइफाइ खोलेँ । सन्देश आएर बसेको रहेछ ।

“ मैले उत्तर पाउन सकिनँ नि । ”

मेरो रिसको पारो माथि पुग्यो । तर संयम देखाएँ । जिब्रो बाँधे । औँलाले सन्देश लेखेँ, “मलाई जिस्काउने काम नगर्नू ।  प्रयोग गरेर असफल भएको जीवन किन जोड्ने ?”

“आखिर कसैको साथ चहिने रहेछ ।” पुनः सन्देश आयो ।

“साथ चाहिए पनि पुरानो बाटोमा फर्कनु जरुरी हुँदैन । “आज राकेश किन पछि लागेको छ बुझ्न सकिनँ । “कसैले पनि पत्याएनन् अब तिमीलाई साथ दिन ? ” नरम आक्रोश औंलाको टुप्पोले पनि पोख्यो ।

उताबाट उत्तर आयो, “ हेर, श्रीमती खोज्नु त सरल नै हुँदो रहेछ तर बाबु, नानीलाई मामु खोज्नु ज्यादै कठिन काम रहेछ ।”

भित्तामा हेरेँ । छोराछोरीले बोलाएजस्तै लाग्यो ।