“हैन हो साथी ! के लेख्छौ यार ?”

“प्रकाशन गरिदिने पनि कस्ता ? पाठक पनि कस्ता ? अझ क्या दामी,क्या वेजोडको भन्दै कमेन्ट लेखेका हुन्छन् ।” लामो समय पछि भेट भएको सुमनले कैलाशलाई भन्यो ।

“अरे उ त वरिष्ट साहित्यकार भै सक्यो नि, तिमी हामी जस्तो हो र ?” थोरै खिस्याउने भावमा बोल्यो अफाक ।

“न शुरुवातको टुङ्गो छ, न अन्त्य ढङ्गको छ, के हो के हो ? एकादेशमा…….. भन्नेबाट शुरुवात भएको कथा त पढेको हो तर यस्तो छेउँ न टुप्पोको कथा त कहीँ पढिएको थिएन।के पाराको कथा हो कुन्नि ? नाम फेरि लघुकथा रे ?”

” पढ्दै गयो अब के हुन्छ होला भन्ने बेलामा त कथा नै सकियो।त्यस पछि के भए होला भन्ने मनमा खुल्दुली मात्र।कहीँ यस्तो टुङ्गो न बुङ्गोको पनि कथा हुन्छ यार ?” कैलाशको कथा लेखन पटक्कै चित्त नवुझेको असन्तुष्टि भाव व्यक्त गर्यो सुमनले ।

उसको कुरा सुनेर सबै साथी गलल्ल हाँसे ।

मनमनै के सोच्यो कुन्नि ? उनीहरु हाँसेको देखेर मुसुक्क मुस्कुरायो कैलाश पनि ।