निर्मलाको मेसेन्जरमा माइतघर भाउजूबाट एउटा निम्तो आयो । त्यसमा लेखिएको थियो तीजको हार्दिक शुभकामना निर्मला नानी ! बधाई छ, छिटै हामी एउटा होटलमा भव्य पार्टीको आयोजना गर्दैछौ 

भोलिपल्ट अर्को निम्तो आयो तीजको उपलक्ष्यमा ११ बजेदेखि ४ बजेसम्म होटल उत्तर आधुनिक ग्रील, नयाँ सडकमा चेलीबेटीहरूको सामूहिक पार्टीको आयोजना गरिएको छ । इच्छुक चेलीबेटीहरूले होटलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले अग्रिम रकम जम्मा गर्नुपर्ने छ । चेलीबेटी सबैलाई खबर गरिदिनु होला ।

निर्मलाले माइतमा फोन गरेर भाउजूलाई सोधिन्, होटलको मेनुमा के के खानेकुरा हुन्छ भाउजू ? खीर पनि हुन्छ ?

भाउजूले भनिन्, धत् त्यो गाउँले पाराको खीर कहाँ हुन्छ त होटलमा ! माछा, मासु, बियर ह्विस्की जस्ता आधुनिक परिकार पो हुन्छन् त नानी !”

निर्मलालाई लाग्यो, खीर नभएको तीजमा के भेला हुनु ! तीजमा माइत जाने भनेको होटलमा भोज खान भेला हुने हो र ! घरमा बुहार्तन गरेर थाकेका बुहारीहरूलाई वर्षदिनमा बल्लतल्ल माइतघरमा आत्मीय भेटघाट गराउने अवसर जुटाउने पवित्र चाड तीज पनि अब भत्केछ र उत्तर आधुनिक भएछ । पैसा खर्च गर्न नसक्ने चेलीहरूले अब तीजमा माइतघर नसम्झे पनि भयो ।”