“धड्याम्म…!”

ठूलो आवाजले बम पड्क्याे ।

सकी नसकी उनी दौडिएर बङ्करभित्र पसिन् ।

जिउ सिरिङ्ग भयो । मुटु फुट्ला झैँ गरी उफ्रियो । दुवै हातले पेट मुसारिन् ।

गर्भमा रहेको शिशु पनि चलमलायो ।

खुला संसारमा पदार्पण गर्न तयारी शिशुको चिन्ताले आँखा बन्द गरिन् । आँखा रसाएर तप्लक्क दुई थोपा आँसु भुँइमा झरे ।

‘काममा गएको उनको हालत के छ होला ? कति बेला कसरी फर्कने हो ? हे  ईश्वर कुनै अनिष्ट नहोस् !’ मनमनै प्रार्थना गरिन् ।

“नाओमी म आइपुगेँ । ढोका खोल ।” साँझ झमक्क भै सकेपछि आइपुगेको राफेलले सावधानीपूर्वक पत्नीलाई बोलायो ।

भित्र पसेपछि राफेलले पत्नीलाई अङ्गालोमा कस्यो । दुवैले एकअर्कालाई स्नेहपूर्वक चुम्बन गरे ।

राफेलले शिशुलाई पनि नाओमीको पेट बाहिरबाटै चुम्बन गर्यो ।

 

“यसै हप्ता तिम्रो डेलिभरीको लागि अस्पताल जानु छ । देशको हालत गम्भीर छ । के पो हुने हो ?” चिन्तित भाव प्रकट गर्यो राफेलले ।

भय, चिन्ता र आशङ्कामा रुमलिए उनीहरू । लामो मौनताबिच कति बेला नाओमी झुपुक्क झकाइछन् !

“मलाई गर्भमै रहन देऊ । युद्धकै लागि मलाई नजन्माऊ । नाइँ म जन्मन्न ।” गर्भस्थ शिशुको आवाजले उनी झसङ्ग भै ब्युँझिइन् ।