पेटमा समस्या आउन थालेपछि गाउँमा रहेकी श्यामकलीले पेट दुखेको औषधी किन्न सदरमुकाम आइन् ।

औषधी पसलेले उनलाई अन्दाजको भरमा थरिथरिका औषधी त दिए, तर औषधीले काम नगरेपछि औषधी पसलेले नै नजिकै पर्ने एक शहरमा रहेको एउटा निजी क्लिनिकमा सिफारिस गरेछन् । सिफारिस अनुसार श्यामकली एउटा बोको बेचेर छोराका साथ शहरमा रहेको क्लिनिक खोज्दै गइन् । श्रीमान् कामको सिलसिलामा खाडी मुलुक गएकाले उनले छोराको सहारा लिनुपरेको थियो ।

छोरासहितकी श्यामकलीले होटल बास र यातायात खर्च तथा औषधी उपचारका लागि शहरमा सबै पैसा सकिन् । एक्सरे र अल्ट्रासाउण्ड तथा ल्याबटेस्टका लागि धेरै खर्च गरेबमोजिमको औषधी खाँदा पनि उनको पेट दुखाइमा सुधार नआएपछि पिडासहित घरव्यवहार सम्झेर उनी फेरि गाउँमै फर्किइन् । उपचार गर्दा पनि पेट दुखाइले सही नसक्नु भएपछि उनले भैँसी बेचेर छोरासँग नाइटबसमा काठमाडौँतिर लागिन् ।

नाम चलेको सरकारी अस्पतालमा भीडभाड भए पनि ढिलै गरेर उनले स्वास्थ्यलाभ गरिन् । सरकारी अस्पतालको भरपर्दो ल्याब, रोग निदानका प्राविधिक उपकरणले र दक्ष डाक्टरको सिफारिस अनुसारको सही औषधीले गर्दा सामान्य खर्चमा उनको रोग निको भयो । भरपर्दो उपचारकै कारण उनले स्वास्थ्यलाभ गरिन् । भैँसी बेचेर ल्याएको रकम अधिकांश बाँकी रहेकोले गाउँ फर्किएर अर्को भैँसी किनेर घर ब्यवहारमा लागिन् ।

उनले गाउँले साथीहरुलाई पनि सल्लाह दिइन्, “जथाभावी औषधी किनेर नखानू र भरपर्दो अस्पतालमा गएर उपचार गराउनू, चाहे राजधानी काठमाडौँमा नै किन जान नपरोस् ।”

गाउँलेहरूले श्यामकलीले भने झैँ टाढा किन नहोस् काठमाडौँमै गएर भरपर्दो उपचार गर्ने विचार गरे । ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ भन्ने उखानलाई पनि गाउँलेहरूले सम्झिन थाले र मननका साथ सजग पनि हुन थाले ।