गाउँमा हैकम चलाएर बसेका हुन् पण्डित वेदप्रसाद उपाध्याय । धनी हुन्- जग्गा जमिन प्रशस्त, तर पुत्र नास्ति ।

लगातार ७ छोरी, सबै ‘मेड इन जापान’जस्ता । जन्मिए, हुर्किए, पढे, बढे, गए…आमाबाउको व्यवस्थापनअनुसार ।

तर कान्छी छोरी अलि फरक । जे गर्न हुन्न भन्यो त्यही गर्ने । पढाइ त अति अब्बल, तर बागी । केही पनि भनेको नमान्ने । “दलितहरूको घर न जा न कान्छी !”भन्ने आमाले, तर परियार र विश्वकर्मा ५ केटीसित मितिनी पो लाई । आजित भएर बनारस पठाए पढ्न, संस्कृतमा आचार्य गरेर फर्की, गोल्ड मेडलसहित र पढाउन थाली एउटा कलेजमा नेपाली ।

सोही कालेजमा “लौह पुरुष गणेशमान वि के का सुपुत्र पनि प्राध्यापक- अङ्ग्रेजीको, अति सुन्दर युवक । मन मिल्यो । शिव मन्दिरमा गएर कर्मकाण्ड आधा घण्टामा पूरा ।

यता पण्डितको घरमा “लक डाउन”हङ्गामा !

निषेध माइती…६ दिदीहरूद्वारा बहिनी बहिष्कार ।

त्यही भयो, जे हुने गरेको थियो । तर कान्छी छोरी…बिन्दास ! प्रभाव शून्य ।

११ महिनापछि पुत्र लाभ । ऊ पनि अति सुन्दर । हेर्दाहेर्दै ५ वर्षको भयो । ५ वर्षको बालकलाई गीता कण्ठ अर्थसहित ।अङ्ग्रेजी पनि । यता अनेक लीला ।

उसको बालकको बारेमा सुनेर राष्ट्रिय पत्रिकाको वरिष्ठ पत्रकार “रिया नेपाली”आइन्। उनले बालकको मुखबाट गीता सुनिन्। अनेक प्रश्न गरेको, सबको जवाफ तुरुन्त ।

“आमाको नाम ?” बालकसित रियाको प्रश्न ।

“प्रतिभा उपाध्याय !”बालक बोल्यो ।

” पिताको नाम ?”

“अवसर विश्वकर्मा !”

उत्तर सुनेर रियाको मनमा अनेक भाव आए । उनको दिमागमा “उपाध्याय +विश्वकर्मा” चक्कर लगाउन थाल्यो ।

“तिम्रो नाम नि बाबु ?”

“चमत्कार !”

बालकको अनुहारको आभा प्रदीप्त ।रिया फेरि पनि कल्पनाको दुनियाँमा ।

तीन नामले उनको मनमा एउटा कालजयी वाक्य जन्मायो, “प्रतिभाले अवसर पाएपछि चमत्कार हुन्छ !”