गाउँमा स्कूल थिएन । केटाकेटीहरु टाढा टाढा धाएर पढ्नलाई पुग्नु पर्दथ्यो । हिउँदमा त खासै समस्या हुन्नथ्यो । बर्खामा भने खोला नालाले गर्दा विद्यार्थीहरुले औधी कष्ट व्योहोर्नु पर्दथ्यो । यो समस्याबाट आक्रान्त भएकामध्ये केही मिलेर एकदिन सल्लाह गरे कि गाउँमै स्कूल खोल्न पहिलाे कदम चाल्ने ।

स्कूल खोल्नका लागि आवश्यक भौतिक सामग्री जुटाउन उनीहरुले गाउँलेहरुसँग सहयोग माग्न हिँडे । सहयोगका लागि ज–जसको घरदैलो पुगियो ।  उनीहरु भन्ने गर्थे–

‘ला हौ मेरो त छोरो परदेश छ ।’

‘मेरो त बुढो बाहिर छ ।’

‘घरमा सल्लाह गर्नु छ ।’

जो जसको हैसियत थियो, तिनीहरु कसैबाट पनि शिक्षाका अभियन्ताहरूलाई सहयोग प्राप्त हुन सकेन ।

यसको केही दिन पछि केही हूलले गाउँमा मन्दिर बनाउने घोषणा गर्यो । उनीहरु सहयोग जुटाउनका लागि गाउँ घुम्न थाले । उनीहरु जुन जुन घरमा पुग्दथे त्यहाँकाहरु भन्ने गर्थे–

‘ए मन्दिर बनाउने ? मेरो तर्फबाट पाँच हजार है ।’

‘ए त्यसले पाँच हजार दिएछन्, मेरो तर्फबाट पचास हजार है ।’

‘ए मेरोतर्फबाट जग्गा दान है ।’

केही महिनाभित्रै गाउँमा ठूलो गजुरमुखी मन्दिर आकाशिएर ठडियो तर स्कूल भने बन्ने छाँटकाट नै देखिएन ।