धेरै वर्षअघिको कुरा हो, मेरा साहित्यिक गुरु, प्राथमिक विद्यालयका, छन्द कवि गोविन्दराज विनोदज्यूसित मैले साहित्यको बारेमा आफ्नो धारणा यसरी राखेको थिएँ, “गुरुदेव, जसरी यो देशमा हरेक क्षेत्रमा अयोग्यहरूको भीड छ, त्यसै गरी साहित्यको क्षेत्रमा बग्रेल्ती असाहित्यिक पात्रहरू हाबी भएको पाइयो । रहर त छ, तर थुपारेर शब्दहरू साहित्य नै हुन्न, यति कुरा बुझे पछि म त कलम छुन्न !” यस्तो शेर सुनाएँ ।

अजात शत्रु बनेका सरलता र सज्जनताका सगरमाथा, ज्ञानोष्मा नास्ति भोले बाबा, गीता कण्ठ गरेर प्रकट हुनुभयो, “धनराजजी, साहित्य, त अलि बेग्लै कुरो हो । यो विशिष्ट सिर्जना हो । कलात्मक अभिव्यक्ति हो । नयाँ दुलही सिँगारे जसरी अनेक गहनाले सिँगार्नु पर्दछ । दुलहीको मात्र कुरा गर्दा उग्र नारीवादी देवीहरूले लाठी चार्ज गर्ने सम्भावना हुन्छ । अचेल जता पनि जोखिम छ । समाज विभाजित छ । हेर्नुहोस्, जसरी माटोको प्रकार हुन्छ, अब्बल, दोयम, सिम, चाहार, त्यसै गरी व्यक्तिको टाउको भित्रको गिदीको पनि स्तर हुन्छ । वेद व्यास र वाल्मीकि, कालिदास आदि स्तरका दिमागका मालिकहरू एक युगमा एक दुई थान मात्र धरतीमा अवतरण गर्ने हुन् । बुद्ध कति जन्मिए ? नारायण गोपाल फेरि अर्को जन्मिने कुरा असम्भव । अब साहित्यको क्षेत्रमा पनि त्यस्तै हो । यसलाई यसरी भन्नुपर्दछ, साहित्यकार, साहित्यप्रमी र साहित्यसेवी गरेर तीन वर्गमा विभाजन गर्न सकिन्छ ।

१०० जनाले कलम समाए ९५ जना साहित्यप्रेमी र साहित्यसेवी हुने हुन् । पाठकहरू पनि यसै वर्गमा पर्दछन् । प्रकाशक र साहित्यिक पुरस्कार स्थापना गर्नेहरू पनि प्रेमी र सेवी हुन् । साहित्यकार सूर्य हो, जून हो, सगरमाथा हो, चौतारीको वर, पीपल र समी हुन् । तुलसी हुन् । हीरा हुन् । १०० वर्षको काल खण्ड मा ५ जना साहित्यकार जन्मिए देशलाई पुग्छ । मलाई यस्तै लाग्छ । मेरो मान्यता सत्य नहुन पनि सक्छ । हजुरलाई कस्तो लाग्छ ?”

“सही हो, गुरुदेव ! विशिष्ट प्रतिभा भनेको विशिष्ट नै हो । कालजयी सिर्जना गर्ने ५% जतिले हो, त्यो पनि अधिकतम । बाँकी सबै ‘अनिकालजयी’ हुन् । मेरा गजलहरू र व्यक्तिवादी सिर्जनाहरू जस्तै । लाग्छ, मेरो अनुमान, आजसम्म ३०० भन्दा बढी गजल लेखियो होला, मेरा कालजयी गजलहरू जम्मा दुई, मैले पनि तत्काल रमाइलो गर्ने उद्देश्यले मात्र सिर्जना गरेछु । देवकोटाको ‘यात्री’ कविताजस्तो सिर्जना भए पो कालजयी हुने ! आज आएर लज्जित छु गुरुदेव । म यो जुनीमा विदूषक त बन्छु, तर साहित्यकार बन्न सक्दिन । अब रहर पनि छैन । उही एउटा अङ्ग्रेजी भनाइ, दाजु गोविन्दराज भट्टराईले दिनुभएको एउटा किताबमा पढेको, बिस वर्ष अघि, लगभग, भनाइ :  After having written for fifteen years,I came to know that I do not have talent in writing. But I can’t stop it because I was too famous .

अब यति नाम कमाइयो कि, सबैको लागि त होइन, केही हो लागि ‘मानक’ भइएछ । म त ‘मानक सर्जक’ हुँ । हानिहाल्ने । आजसम्म झोक र आक्रोश मात्र लेखिएछ । तनावमा लेखिने कुराहरूमा ‘सत्यम्, शिवम्, सुन्दरम्’ हुन्नन् । मानवता नभएको सिर्जना साहित्य हुन्न । गुरुदेव, अरूले उकासेर साहित्यकार बनिन्न । तपस्या रहेछ यो कुरा । जरुवा जल रहेछ सिर्जना । हिम नदी झैँ सललल बगिरहनुपर्ने । अब नलेखीकन बस्न सक्ने कुरा पनि आएन । लत त लाग्यो तर गलत नहुने गरी । यसरी हामी गुरु चेलाको बिचमा संवाद भएको थियो । यसै प्रसङ्गमा मानक स्रष्टाहरूसित पनि विचार विमर्श गरियो । शोध गर्दै गएमा अनेक कुराहरू थाहा हुन्छन् । हिज्जेको ज्ञान नै महाभारत रहेछ । मुहार पुस्तकमा तथाकथित विद्वानहरूको ल्याकत देख्दा रुन मन लाग्छ ।

अनि आफैँलाई छाम्दा के थाहा भयो भने ‘टपरटुइयाँ पनि हुन्छन् मूर्खमध्ये प्रतिष्ठित’ पो रहेछु । अझ अर्को विडम्बना, यतिखेर मानक नेपाली भाषा र सरकारी नेपाली भाषामा कुन कुन चाहिँ सिक्ने हो, अन्योल नै अन्योल । हरेक कुरामा स्थायित्व छैन । भोलि कता जना मुकुन्द शरण उपाध्यायहरू जन्मिने हुन् । थाहा छैन । झर्रो नेपाली भाषा कुनै दिन हर्रो, बर्रो, टर्रो पो हुने हो कि ? म अल्प ज्ञानी पनि निरर्थक कर्म गरिरहेको छु । किन चिन्ता लाग्छ मलाई ? किन चिन्तन गर्न मन लाग्छ ? थाहा छैन । आफ्नो भाषा भनेपछि हुरुक्क हुने बाबा कमलमणि दीक्षित ज्यू र आदरणीय पिता श्री रमेश खकुरेलको न्यानो स्नेह पाइयो । उहाँहरूको सङ्गतले मलाई पनि नेपाली भाषालाई माया गर्ने बनायो । होस गरेर सिक्न चाहेमा सकिन्छ,अभ्यासले बानी पार्छ । अनिकालजयी लेख्दालेख्दै कालजयी लेख्न सकिन्छ ।

यथार्थमा, आज स्वनामधन्य बनेका मानक सर्जकहरूले पनि कुनै दिन ‘लटरपटर’ लेखेरै यात्रा आरम्भ गरेका हुन् । प्रतिभा, व्युत्पन्न, अभ्यास, हौसला, रुचि, अवसर सबै कुराहरूले साथ दिएमा आजको सिकारु भोलि अब्बल सर्जक बन्न सक्छ, बनेको छ । विभाजित समाजमा जसको जसको पनि आलोचना हुन्छ । तारिफ पनि अति गर्ने र आलोचना पनि धज्जी उडाएरै गर्ने चलन छ । दुनियाँले जे भने पनि आफ्नो यात्रा जारी राख्नुपर्छ । एउटा सच्चा सर्जक कहिल्यै पनि पुरस्कार र सम्मानको पछि कुद्न हुन्न । योग्यलाई पुरस्कारले आफैँ खोजी खोजी आउनेछ । ‘अहिले नेपालमा साहित्यकारभन्दा पुरस्कार र सम्मान बढी भएझैँ लाग्दछ !’ हाम्री जेठी सुपुत्री अनिता गिरीको भनाइ । त्यस्तै देखिन्छ । साहित्य कालजयी वा अनिकालजयी के बनाउने, तपस्या र क्षमतामा भर पर्दछ ।”