हिज चियाबारीमा ठीक समयमा नपुग्दा कामदारीले जेठीमायाको लोग्नेलाई सानो खाल बनायो । आज बिहानै ऊ छात्तीभरि उकुसमुकुस लिएर चाँडै कामतिर लागेको छ । लोग्नेलाई सम्झेर ल्याउँदा जेठीमायालाई चित्त दुखेर आउँछ ।

आज जेठीमायाको शरीर त्यति सञ्चो छैन, र नै उसलाई आफ्नो तीन वर्ष मात्र पुगेकी छोरी अन्तरीलाई बोकेर काममा जाने आँट आउँदैन । उसले अन्तरीलाई घरमा नै थुनिराख्ने मन बनाउँछे । उसले एकपल्ट लामो सास लिइसकेपछि अन्तरीलाई काखमा राखेर स्तनपान गराउन थाल्छे । एकछिनपछि सुत्ने कोठाको भुइँभरि मुरी छरी अन्तरीलाई खेल्दै गर है नानी भनी राखेर बाहिर निस्कन्छे । ढुङ्गाभन्दा पनि कठोर मन बनाउँदै मूल ढोकामा चुकुल लगाइराखेर गाईको गोठभित्र पस्छे । त्यहाँ गम्बुट लगाई हातमा हँसिया लिएर कटुवाको धुवाँ बुङबुङ उडाउँदै झाँसीकी रानीजस्तो भएर ऊ कसैका निम्ति युद्ध लड्न चियाबारीतिर लाग्छे ।

चियाबारीमा मेलो लाग्दा जेठीमायाको सहकर्मीले सोध्छे, “आज नानीलाई लिएर आइनस् क्या हो ?” जेठीमायाले नसुनेको जस्तो गरेर काम सुरु गर्छे । जेठीमायातिर फर्किएर सहकर्मीले भन्छे, “ ऐ जेठी तँलाई थाहा छ ! हिज पल्लो गाउँमा जुनकिरी कान्छीको नानी घरबाटै चोरी भयो हरे ! आजकल मदेशका नानीचोरहरू पहाड पसेका छन् हरे !” तर जेठीमाया चियाको गाजमुनि असंवेदनशील मसिनजस्तै काम गरिरहन्छे ।

बेलुकी ऊ कतै नभुली सरासर घर आउँछे र ढोकाको ताला नखोली घरको भित्ताको प्वालबाट भित्र चियाउँछे—अन्तरी खाटमा निदाइरहेकी रहिछ । उसले ताला नखोली कटेरामा गएर अगेनामा आगो बाल्न थाल्छे ।

केही बेरपछि अन्तरी बिउँझन्छे, र खाटबाट झरेर त्यही भित्ताको प्वालबाट बाहिर चियाउँछे—कटेराका झ्याल र ढोकाबाट धुवाँ बाहिर निस्किरहेको रहेछ । उसले एकपल्ट जोडले “आमा !” भनेर कराउँदा  पनि कटेराबाट कुनै उत्तर नआएपछि ऊ फेरि खाटमा नै गएर पल्टिन्छे ।