“एकदम राम्रो मिलाएर खिच्नू ।” उहाँले आफ्नो आधुनिक मोबाइल सँगैको साथीलाई दिनुभयो । पहिले खनेर ठीक पारेर राखेका खाडलमा वृक्षारोपण गर्नुभयो । सहयोगीले ल्याइदिएको पानीले सिँचाइ गर्नुभयो । बडो तामझामका साथ उहाँको संस्थाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सक्रियताका साथ सहभागी हुनुभएको थियो ।
“सर फोन आए जस्तो छ ।” मोबाइलबाट फोटो खिच्दै गरेको साथीले उहाँको फोन दिंदै भन्यो ।
“हैन हैन अहिले बिहान त हुँदैन । दिउँसो अलि सूनसान हुन्छ त्यही बेला ठोक्ने हो । अहिले त छिमेकीले थाहा पाउँछन् काम गर्न दिंदैनन् । …. ल मैले वडा कार्यालय र नगरपालिकामा कुरा मिलाएको छु । अलि धेरै मान्छे ल्याएर काम छिटो काटेर सक्नु ।” उहाँले फोनमा निर्देशन दिनुभयो ।
“के काम गर्न आँट्नुभयो सर ?” सँगै बसेको साथीले हातमा लगाएको सेतो पन्जा खोल्दै सोध्यो ।
“काम सकेपछि जे त होला अब भनेर आँटेको । हेर्नु न सर चोकमा घर भएर के गर्नु, चौतारीको पुरानो वरको रूखले घर छेकेर बर्बाद भइरहेको छ ।” उहाँले भन्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 









