म भर्खरै विद्यालयबाट फर्केर कपडा बदल्दै थिएँ । बाहिर नरप्रताप बुबा आउनु भएछ ।

“तिम्रो छोरो गाउँमा नै पढाएर सड्ने भयो है ?” उहाँले मेरो बुबासँग भन्नु भयो ।

“के गर्ने यसको भाग्यमा यस्तै लेखेको रहेछ ।” भन्दै बुबाले गाईलाई घाँस राखेर आएर पिँडीमा बस्नुभयो ।

“मलाई त ढुक्क छ दुई वटालाई नै बाहिर पठाएँ” नरप्रताप बुबाले भनेको सुने ।

“बुढा बुढी मात्र कसरी बस्नु भएको छ ?” मेरा बुबाको प्रश्न थियो ।

“भनेको बेला पैसा पठाएकै छन् त्यति भए पछि भयो ।” नरप्रताप बुबाले भन्नु भयो ।

“मेरो त यौटै छोरो, पढाउने नोकरी पाएकै छ । यहीँ भए पनि हामीलाई आनन्द छ ।” मेरा बुबाको कुरा सुनेर म खुसी भएँ ।

“हैन दुई चार लाख खर्च गरेर भए पनि छोरालाई विदेश त पठाउनु पर्छ । नत्र अरूले हेप्छन्” नरप्राताप बुबाको तर्क थियो ।

उहाँ आफ्नो घरतर्फ लाग्नुभयो ।

एक घण्टा पछि “बाबु नरप्रताप त आफ्नै आँगनमा लडेछन् जानु पर्यो ।” बुबाले आत्तिँदै  भन्नुभयो ।

म हतारिँदै उहाँको घरमा पुगेँ । उहाँ बेहोस हुनुहुन्थ्यो । बोकेर हेल्थपोस्ट पुर्याएँ । उहाँले सधैँ खाने रक्त चापको औषधि सकिएको रहेछ र रक्त चाप बढेछ र ढल्नु भएछ । ठुलो असर भने परेको रहेनछ । स्वास्थ्य कर्मीको सामान्य प्रयासबाट ठिक हुनु भयो ।

मैले सोचेँ “अब गाउँमा सडेर बसेका म जस्ताले कति बाबुआमालाई बोकेर भ्याउने हो ?”