कलेजको कार्यक्रममा प्रतिमा गीत गाउँदै थिइन् । श्रोताको समूहमा उनकै सहपाठी अनुराग मंत्रमुग्ध भएर हेरिरहेको थियो । प्रतिमाको चेप्टो-चेप्टो जीउडाल र पुक्क परेका गाला अनि सुरिलो स्वरको प्रभावले गर्दा त्यसै क्षणदेखि अनुरागको मनमा प्रतिमाप्रति असीम अनुराग जाग्यो ।
केही दिनमा नै ऊ प्रतिमाको साथी बन्यो, ढिलो नगरी प्रेम प्रस्ताव राख्यो । मित्रता र प्रेम सम्बन्ध दुवैको प्रगाढता बढ्दै जाँदा मनमा लागेको कुरा खुलेर बोल्ने दिन पनि चाँडै आयो ।
एकदिन अनुरागले भन्यो, “तिमी कति सुन्दर छ्यौ, प्रतिमा !”
कुरा सुनेर उनले भनिन्, “तर म मोटी छु । म स्लीम हुन चाहन्छु तर जति गर्दा पनि हुँदैन ।”
“हैन हैन, तिमी जे छ्यौ, त्यही त राम्रो छ !” अनुरागले हत्त न पत्त भन्यो ।
“होइन, तिमी किताबको जस्तो कुरा नगर न ! रियल कुरा गर ।”
“म साँचो कुरा त गर्दैछु नि ! तिम्रो यही रूपमा म सुन्दरताको उत्कर्ष देख्छु !”
सुनेर खिस्स हाँसिन प्रतिमा ।
केही समय पछि अनुराग र प्रतिमा विवाह बन्धनमा बाँधिए । प्रतिमाको गायनको चर्चा र प्रतिष्ठा बढ्दै गयो । धेरै मान्छेले प्रतिमालाई चिन्न थाले । त्यसपछि भने उनी आफ्नो वजनलाई लिएर झन चिन्तित हुन थालिन् । अनुशासित रहेर डाइटिङ गर्दै, अनि युट्युब र टिकटकका भिडियोमा सिकाएको विधि अपनाएर उनी साँच्चै पातली हुन थालिन् । आफन्त, साथीसंगी र नचिनेका फ्यानहरूले समेत उनमा आएको यो शारीरिक परिवर्तनको खुब तारिफ गर्न थाले । उनको गायनको भन्दा धेरै प्रशंसा उनले आफ्नो नयाँ रूपबाट पाउन थालिन् ।
अनि फेरि एकदिन एउटा कार्यक्रममा उनी गीत गाउँदै थिइन् । पर एक सोफामा बसेको अनुरागले आफ्नी श्रीमतीको दुब्लो पातलो शरीर र स्याप्प परेका गालामा कुनै आकर्षण देखिरहेको थिएन । त्यै पनि, उसले आफ्नो ध्यान उनको रूपमा भन्दा बरु गायनतिर केन्द्रित गर्यो । शायद उनमा अभ्यासको कमी भयो होला, अथवा आफूले सुर र ताल बुझ्न नसकेकोले हो, अनुरागले त्यसमा पनि कुनै आकर्षण छाम्न सकेन ।
त्यसै बेला पर अर्को सोफामा बसेको उसको साथी मनोज र उसकी श्रीमतीमा अनुरागको नजर गएर ठोकियो ।
चेप्टो-चेप्टो जीउडाल र पुक्क परेका गाला भएकी, मोटो-मोटो जिउडालकी मनोजकी स्वास्नी कति राम्री ! देखेर स्तब्ध भयो अनुराग । तर फेरि आफ्नो व्यभिचारी दृष्टिप्रति ग्लानि महसुस गर्दै लाजले टाउको निहुर्याएर भुइँतिर हेरेर टोलाइरह्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









