घरको आँगनमा बसेर दुईचार जना बूढाबूढीहरू घाम ताप्दै गफगाफ गर्दै थिए ।

रामप्रसाद र श्यामलालका बुढाबुढी पनि लुरुलुरु लौरो टेकेर त्यहीँ आए । ओहो ! यहाँ त कति रमाइलो रहेछ भन्दै कुर्चीमा टुसुक्क बसे ।

“आजकल धेरै सन्तान जन्माउने जमाना पनि छैन एक दुई जन्मायो तिनै पनि पढ्न अस्ट्रेलिया ,अमेरिका ,क्यानडा गएका उतै घरबार गरेर बस्छन्, आफू बुढेसकालमा टुप्लुक्क घरमा एक्लै बिरामी हुँदा तातो पानी दिने पनि कोही नहुने ” गहभरि आँसु लिएर रामप्रसादले भने ।

“दुई सन्तान त के पाँच सन्तान भए पनि घरमा बस्ने होइनन् क्यारे, बुढाबुढी त सधैँको एक्लै त हो खाइनखाई त्यति दुःखले हुर्काइयो ,बढाइयो ,पढाइयो आफू असक्त हुँदा हेर्ने मान्छे छैनन् । कस्तो जमाना आयो बरै !” श्यामलालले लामो सास फेर्दै थपे !

रामप्रसादले भन्दै थिए- ” गाउँघरमा त बरु यसरी भेट भएर दुःख सुख बिसाउन पाइन्छ सहरमा बस्न असाध्यै गाह्रो हुँदोरहेछ बुढेसकालमा !”

घरसँगै जोडिएको ओल्ड एज होममा बसेकी एक बुढी आमाले रामप्रसाद र श्यामलालका गुनासा बडो ध्यानसँग सुनिसकेपछि मनमनै सोचिन् –
“भैँसीलाई भैँसीकै सिङको भारी बाख्रालाई बाख्राकै, धन्न छोराबुहारी घरमा छैनन् र अहिलेसम्म आफ्नै घर बस्न पाएका छौँ, नत्र उहिल्यै आश्रमको बास हुने थियो मेरोजस्तै ।”