रातभर मानवले घरमा रडाको मच्चायो । मोबाइल पछार्यो । दराजमा मुड्की बजार्यो । घरको सबैभन्दा ठूलो ऐना पनि फुटाल्यो । सिसाले हात काटेकोले कोठाका भित्ताहरूमा उसको रगत लतपतियो।
झगडाको कारण थियो श्रीमती उषा घर ढिला आउनु । उषा घर ढिला आउनुको कारण थियो अचानक मुसलधारे पानी लगातार दुई घण्टा परेकोले अफिस मै अल्झिनु ।
उषा अफिसमा अल्झिएकोमा मानवले रौद्र रूप धारण गरेको भने होइन । सत्य त यो हो कि सधैं छ बजे घर आइपुग्ने श्रीमती आठ बजे आइपुगेको र दुई घण्टा पुरुष स्टाफहरूसँग एउटै अफिसमा अल्झेको सहन नसकेर हो । उषासँगै त्यस दिन अरू दुई चार पुरुष स्टाफहरू पनि पानीले गर्दा अफिसमै अल्झिएका थिए ।
उषा रुँदै चिच्याई, ‘पल्लो कोठामा छोरी होमवर्क गर्दै छे । मेरो लागि नभए पनि कमसेकम छोरीको मेन्टल हेल्थको लागि त सोच । कहिलेसम्म मलाई शंका नै गरिरहन्छौ ? कहिलेसम्म मेरो चरित्रको परीक्षा लिन्छौ, हँ ?’
पूरै रात मानवको गनगन र उषाको हिंक्कहिंक्कले अशान्तमा बित्यो ।
भोलिपल्ट आमा छोरी टेलिभिजन हेर्दै थिए । टेलिभिजनमा सुनिता विलियम्सको समाचार बजिरहेको थियो । छोरीले सोधी, ‘मामू यो सुनिता विलियम्स भनेको को हो ?’
उषाले ठूलो उत्साह साथ छोरीलाई सुनिता विलियम्स एक महिला अन्तरिक्ष यात्री भएको बताई । साथै एक गर्व गर्न लायक महिलाको रूपमा सुनिताको निकैबेर तारिफ पनि गरी र हाल अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अल्झिएको सम्पूर्ण वृत्तान्त पनि बुझाई ।
आमाको सबै कुरा राम्ररी सुनिसकेपछि छोरीले ‘उनको बिहे भैसक्यो कि ?’ भनेर जिज्ञासा राखी । उषाले भैसक्यो भनेर जवाफ दिई । तब फेरि छोरीले के स्पेस स्टेशनमा उनीसँगै अरू पुरुषहरू पनि छन् भनेर सोधी । आमाले छन् भनेर जवाफ दिई ।
तब भने मलिन अनुहार पारेर बच्चीले भनी, ‘स्पेसबाट फर्केपछि अब उसको श्रीमानले पनि घर झगडा गर्छ होला हगि ?’
उषा झ्याप्पै छोरीलाई अँगालो हालेर ग्वाँग्वाँ रुन थाली ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 








