“नमस्कार ! पूजारी बा, यत्रो धेरै पैसा छ त ! के गर्न लाग्नुभएको ?” आश्चर्य मान्दै लामाले सोध्यो ।

पुजारीबाले लामालाई नमस्कार फर्काए, “ए लामा बाबु पो“फ्याफुला”। बोराको पैसा गुन्द्रीमा खन्याउँदै भने, “पैसाको बिस्कुन सुकाउन लागेको ।”

लामाले धान, मकै, गहुँ, कोदो लगायतका अन्नको बिस्कुन सुनेको थियो । पैसाको बिस्कुन पहिलो पटक सुनेर होला अचम्मित हुँदै सोध्यो, “पैसाको पनि बिस्कुन हुन्छ र ? “

“मन्दिरमा दान स्वरुप आएको पैसा दानपेटीकाबाट झिकेर हेर्दा, ढुँडी परेको रहेछ। अन्नलाई जस्तै गुन्द्रीमा यसरी सुकाउनु परेपछि बिस्कुन नभनेर के भन्नु त ?” पुजारी बा’ले हाँस्दै जवाफ दिए ।

पुजारीबाको कुराले लामाको मनमा चिसो पस्यो । गुम्बाको पैसा पनि ढुँडी परेर कामै नलाग्ने भयो भने के गर्ने होला ? ऊ सोचमग्न भयो ।नयाँ गुम्बा बनाउने उद्देश्यअनुसार पैसा नमास्ने र ३ बर्ष सम्म दानपेटाकामा नै बचत गर्ने योजनाले गर्दा, गुम्बाको पैसा पनि दानपेटीमा नै थियो ।

पिँढीमा बसेर पढिरहेको नातिले हजुरबा र लामाको वार्तालाप सुनिरहेको रहेछ । “हजुरबा एउटा कुरा भनौं ?” उसले हजुरबातिर हेर्यो । हजुरबाले टाउको हल्लाएर अनुमति दिएपछि उसले कुरा राख्यो।

“ऐलेको जमनामा पनि यो दानपेटीकामा पैसाको भेटी/दान लिएपछि ढुँडी नपरेर के परोस त ? मेरो सल्लाह मान्नु हुन्छ भने अब मन्दिर र गुम्बा मात्र होइन मस्जिद, चर्च, गुरुद्वारालगायत सम्पूर्ण धार्मिक स्थलमा कार्डबाट दान लिने व्यवस्था गरौं । यसो गर्यौ भने न ढुँडी पर्ने डर न त पैसाको अपचलन/भ्रष्टाचार हुने खतरा ”

नातिको कुरा पूजारी बा र लामा दुबैले ध्यान दिएर त सुने तर केही बोलेनन्, मुखामुख मात्र गरे ।