“छ्या ! कति छिटै बिदा सकियो । हेर्दा हेर्दै फेरि काठमाडौं फर्कने बेला भैसकेछ,” बरन्डामा यसै ढल्केर सोचिरहेको थिएँ ।

आमाको आवाज आयो- “जेठा त्यो सुँगुरको खोरको भाटा कसिदे होइ । घरी न घरी उम्केर मेरो मास्सु खाइसक्यो ।”

मैले ‘हुन्छ’ भनेँ ।

पर पूर्वतिर दिक्तेल बजारका घरहरू टल्किरहेका टाढैबाट देखिन्थे । जाडो खासै घटिसकेको थिएन । हुन त पूर्वबाट आउने चिसो सिरेटो दिक्तेल लगायत हाम्रो गाउँसम्मै लडिझर्नु अगाडि नै ट्याम्के डाँडाले पक्रेर राख्थ्यो । नत्र त झन कति जाडो हुन्थ्यो होला हगि ? मैले आफैसँग सोधेँ ।

गाउँका चिचिभुँडीहरू भेला भएर हाम्रो खलाको परालभित्र गुफा बनाएर लुकामारी खेल्दै थिए ।

बरन्डासम्मै फेरि आमाको स्वर उक्लियो, “लु भो, आबो नखेल । मार्की लाग्छ क्या परालको धुलोले ! बिखालु पो हुन्च त परालको धुलो ता ।”

खितिति हाँस्दै ती सबै त्यहाँबाट भागे ।

शहरी वातावरणमा म अझै अभ्यस्त भएको थिइनँ । मेरो मन सधैं हरितक्रान्तिले ढाकिएको प्राणमा त्राण भरिदिने यही गाउँमा नै हुन्थ्यो । म यहाँ पदार्थ पदार्थमा अपनत्व पाउँछु । हिउँदमा काठमाडौंको जाडोले पनि राम्ररी नै खेदो लाउँछ । ती बिराना मिरमिरेहरू । ती ओस लागेका चिसा गल्लीहरू । ती सडकहरू जहाँ मुसा मोटरले बीभत्स किचिएर वातावरणमा दुर्गन्ध फैलाउँछ । ती सबैसबैबाट म अहिले टाढा आएको छु । यति सम्झँदा मात्रै पनि मन आनन्दले झुम्छ ।

सम्झन्छु – यति बेला त शहरको जाडो पनि उखुपातै हो । जाडोले निदाउन नसकेर सडकहरू आँखाभरी विष जमाएर यसै ढल्किरहेका हुन्छन् । घरहरू अनिदा हुन्छन् । प्रत्येक अनिदा घरका झ्यालबाट बिहान झिसमिसेमा अलाराम घडीका थरीथरी आवाजहरू हाम फाल्दै गल्लीसडकका छातीमा पछारिन्छन् । त्यसपछि बल्ल पत्रिका बेच्नेहरू, कलेज पढ्ने केटाकेटीहरू, चिया चुरोट बेच्ने साउजीहरू र अन्य जागीरेहरू अल्छे चालमा उठ्दछन् । ठन्डी मौसममा मलाई ती कलेजका केटाहरू ज्यादै आकर्षक लाग्थे जो आफ्नो गर्लफ्रेन्डका मजेत्रो ओढेर निस्फिक्री फुसफुस चुरोट तान्दै सडकमा देखा पर्दथे ।

“छाउरी च्यो.. च्यो.. । हिज कहाँ गाको थिस् हँ ?”

तल आमाको स्वरले फेरि मेरो सोचाइ भङ्ग भयो । घरमा एउटा कालो  रङ्गको छाउरी कुकुर छ । त्यसको नामै छाउरी रहन गएको छ । त्यो हिजदेखि गायब थियो । शायद भर्खरै मात्र फर्कियो र आमा त्यसमाथि रोष प्रकट गरिरहनु भएको छ ।

‘हेर् बबीहाङ । अब फेरि उतै फर्कनुपर्छ ।’

सम्झेर मन उसैउसै भारी भएर आयो ।

० ० ० ०

कान्छाले बिँडी सल्कायो । हावामा बिँडीको खरो गन्ध सरर फैलियो । उसको उमेर मुश्किलले बाह्र/तेह्र  हुँदो हो । छड्के पारेर लाएको धुस्रे टोपीले कान्छालाई कत्ति पनि सुहाएको थिएन । बरु उमेर ज्यादा देखिएको थियो । झमक्क रात परिसकेको थियो ।

“घुँडा काटिस् त कान्छा !” सत्तुले भन्यो ।

ठ्याक्कै त्यही बेला अचानोमा कान्छा भालेको घुँडा टुक्र्याउँदै रहेछ । ऊ फुर्केर बोल्यो, “काट्छु त दाजै, म ता घुँडासुँडा घाँटीसाँटी सब काट्छु त !”

“अरे मेरो घुँडा पो भनेको हौ कान्छा !”

छेउमा टुक्रुक्क बसेर टर्च लाइट देखाउँदै गरेको सत्तुले भन्यो । खुकुरीको टुप्पोले उसको दायाँ घुँडालाई छ्यास्स छोएछ । सुरुवाल काटिएर मासुसम्मै भेटेछ । मैले हाँसो थाम्न सकिनँ । अरू पनि गलल हाँसे ।

“लाss..! सारै काटेछु दाजै ?” कान्छ आत्तियो र सत्तुको घुँडानिर उसका चिम्सा निर्दोष आँखा पुर्‍याएर हेर्न थाल्यो । रगत बग्न नदिन दुई औंलाले घुँडाको चोट थिच्दै सत्तुले भन्यो, “छ्यास्स पारिस् नि हौ कान्छा ! भैगो तँ भाले काट् म मेरो खुन रोक्छु ।”

फेरि सबै जना एक फेर गलल हाँसे ।

त्यही बीच सत्तुकी बहिनीले आँगनछेउबाट कुनै झारको पत्ता चुँडालेर ल्याई र दाजुको घुँडाको चोटमा केही थोपा चुहाइदिई । रातको अँध्यारोमा झलल बलिरहेको राँको बोकेर सुबेदार चन्द्रध्वज काका कुखुरा काट्ने कार्यक्रम चलिरहेको आँगनमा आइपुगे । आँगनको भुइँमा राँको झोसेर निभाए अनि आफ्नो गोलाकार छत्रे टोपी मिलाउँदै फौजी भाँतीमा बाहिरबाटै ठूलो स्वरले आदेश दिए, “ए सत्तेहाङको आमा, लु एक डबका जाँड बनाऊ त ।”

भित्रबाट चर्को स्त्री आवाजमा तुरुन्तै तीर जस्तै जवाफ फर्कियो, “दिनभर गाउँ डुलुवालाई रातीराती के को जाँड ?”

चन्द्रध्वज काका सिकुवामा आएर मसँगै खाटमा बस्दै भन्नु भो, “तँ त राम्रो पढिस् बबी । एसएलसी सकेर काठमाडौं पुगिस् । हाम्रो सत्तुहाङ त लठुवा भो । दुई दुई पल्ट एसएलसीमा गुल्टियो । बन्दुक बोकेर कालिज मार्न कुदिहिन्छ । कुन दिन माउवादीले भेट्छ कि सेनाले भेट्छ त्यसपछि फेला पर्छ । सेनालाई बन्दुक बुझाइहाल् भनेको मान्दैन ।”

हाम्रो गफ सुनिरहेको सत्तु आँगनबाटै करायो, “मैले चार पाथी धानमा किनेको बन्दुक म किना आर्मीलाई दिन्चु ? दिन्नाँ । मेरो बन्दुक हो । ब्यारेकमा बुझाउनु भन्ने बित्तिकै बुझाउँचु ? मेरो बन्दुक मेरो खुशी ।”

भारतीय सेनामा सुबेदार भएर सेवानिवृत्त हुनुभएका चन्द्रध्वज काका छोरा सत्तुहाङको कुरा सुनेर भने सिपाही झैँ लुत्रुक्क परे । परिवारमा जब छोरो बढ्दै जान्छ पिताको सत्ता स्वतः धरापमा पर्न शुरू हुन्छ र यो नै एक खाले प्राकृतिक सामाजिक नियम हो । त्यसपछि सत्तु मतिर फर्कियो ।

“ओइ बबी तँ काठमान्डुमा कहाँ बस्चस् अरे ?”

“बानेश्वर !”

“ए..! हाम्रो स्कुलको हेडमास्टरको नाम थानेश्वर तँ बस्ने बानेश्वर,” सत्तु फेरि एक हरफ ह ह ह गरेर हाँस्यो ।

मासु सबै टुक्र्याइसकिवरि कान्छाले हात धुँदै मलाई खिज्याउँदै सोध्यो, “अनि हाम्रो बबी दाजैलाई ता कुख्रा काट्न पनि आउँदैना पो थ्यो नि ? काठमाडौंमा कुख्रा काट्न सिक्नु भो कि दाजै ?”

मैले थोरै अप्ठ्यारो मान्दै काठमाडौंमा कुखुरा काट्न नपर्ने बरु चोकचोकमा कुखुराको मासु पसल भएको कुरा बताएँ  । सत्तुले त्यसमा पनि मलाई बाँकी छोडेन र  भन्यो, “यसको घरमा पछि यसको स्वास्नीले काट्छ कुख्रा ।”

भालेको मासु पाक्यो । भान्साबाट मगमग वासना बाहिरियो । हामी हात धोएर भुइँमा लहरै गुन्द्रीमाथि बिछ्याइएको राडीमा बस्यौं । भित्तामा झुन्ड्याइएका ठूला ठूला दुई खड्कुला, लहरै मिलाएर राखिएका तामे र पित्तले गाग्रीहरू, आम्खोरा र करुवाहरू मलाई सबैसबै प्रिय लागे । यो त्यही घर हो जहाँ म सत्तुसँग खेल्दै हुर्किएँ । सयौं पटक बास बसेँ । सत्तुको भागको खाजा उसिनेको इस्कुस र सुठुनी सयौं पटक बाँडेर खाएँ । यस घरमा मलाई सुकिरहेको सुकुटी थुतेर पोलिखान कसैलाई सोध्नु परेन । आज त्यही घरमा म पाहुना बनेर खाना खान निम्त्याइएको छु । मलाई एक खालको बेग्लै आनन्दको अनुभूति भैरहेको थियो ।

मनमनै भनेँ, “कि त अब म ठूलो भैसकेँ । कि त काठमान्डु खत्रै रैछ र मलाई मेरै गाउँमा पाहुना बनाइदियो । आहा !”

खाना खाने बात मार्ने सम्पूर्ण काम सिद्धिएपछि कान्छाले  सुबेदार काकासँग एक खिल्ली बिँडी माग्यो । भान्साबाट एउटा अगुल्टो  झिकेर ल्यायो र त्यसैमा झोसेर सल्कायो । एक पटक हावामा फेरि बिँडीको तीखो गन्ध सरर फैलियो ।

“लु है म चाहिँ लागे । भोलि ब्यानै फेरि बिजुलीको पोल खन्न जानु छ,” अगुल्टो दायाँबायाँ हल्लाउँदै कान्छा उकालो लागी पनि हाल्यो । गाउँघरमा बिजुलीको खम्बा गाड्ने काम चलिरहेको थियो । त्यसबाट आजकल  दुईचार पैसा कमाइरहेका थिए गाउँका जवानहरूले । अब छिट्टै ती पोलहरूमा तार टाँगिनेछन् रे । त्यसपछि ठूला ट्रन्सफर्मरहरू ल्याइनेछन् रे । अनि त गाउँ दिनरात झिलिमिली हुनेछ रे । रेमाथि रेका कुरा थपिँदै गएका थिए गाउँमा । कतिसम्म भने अब बिजुलीबत्ती आएपछि जंगल पनि झिलिमिली पारिनेछ रे । त्यसपछि सेनाले खोजीखोजी माओवादीहरू सफाचट पार्नेछ रे ।

मेरो हातमा पनि अगुल्टो थमाउँदै मलाई बिदा दिइयो ।

मलाई कताकता आज यतै सुतौं न भनिदेओस् सत्तुले जस्तो लागेको थियो तर त्यस्तो भएन । मेरो घर जाने बाटो सम्झेर मात्रै पनि मेरो मन एक खेपलाई जोडले काँप्यो । मैले चेतना पाएँ कि बिजुवा खोलापारि छ मेरो घर । त्यो अँध्यारो बिजुवा खोला तर्नु छ । अलि पर कटुवाल धारा भनिने सानो ढुंगे धारा छ जहाँनेर किम्बुको बूढो रूख छ । त्यस रूखमा बेलाबेला तर्साउँछ भन्ने कुरा मैले सानैदेखि सुनेको हो । मलाई तुरुन्तै एक किसिमको सन्त्रासले छोपेर ल्यायो । तर के गर्नु ? त्यति सानो उमेरको कान्छा त नडराई एक्लै बाटो लाग्यो ।  त्यसमाथि उसको घर त मेरोभन्दा अझै टाढा निकै माथि लेकमै पर्थ्यो । एउटा उत्तिसघारी र अर्को पात्लेको सानो जंगलै पार गरेर उसको घर पुगिन्थ्यो ।

एक मन मलाई खिन्न खिन्न जस्तो पनि लागेर आयो । शायद हुर्कनु, बढ्नु र ठूलो हुनु भनेको सानोमा जस्तो सँगै नाङ्गिनु एकै थालमा खानु अथवा सँगै एउटै सिरक ओढेर सुत्नु होइन रहेछ ।

म हिउँ जस्तो चिसो महसूस गर्दै बिदा भै निस्किएँ । मेरो आङ त्यसै त्यसै जर्कियो । अगुल्टोलाई दायाँबायाँ हल्लाउँदै र बाटो ठम्याउँदै म बिजुवा खोलातिर लागेँ ।

० ० ० ०

बिहानै जोडी शङ्खको विरक्तलाग्दो आवाजले म ब्युँझिएँ । सधैं हो भने म सामान्यतया भालेको डाकले ब्युँझन्थेँ । बिहानैको त्यो शोकधूनले मनभित्र चिसो पस्यो ।

‘को खसेछ हँ ?’ म आवाज आएको दिशामा लम्किएँ । त्यो आवाज खत्रीगाउँतर्फ सोझियो । मैले टाढैबाट देखेँ भानु खत्रीको आँगनमा मानिसहरूको भीड थियो । म पुग्दा खत्री दाजुभाइहरूको रुवाबासी थियो । हाम्रो राई गाउँबाट पनि मानिसहरू भेला हुँदै गएका थिए । सत्तु, सुबेदार काका, कान्छा, लोकुहरू पहिले नै पुगिसकेका रहेछन् । मृतक भानु बडाको लास हरियो बाँसमा राखिएको थियो । घाँटीदेखि मुनि सेतो कात्रोले ढाकिएको थियो ।

मानिसहरू त्यहाँ केही रहस्यमयी खस्याकखुसुक गर्दै थिए । एक जना काका बोले, “बिरामी भए पनि रातिसम्म बूढा बाँच्ने साहस गर्दै थिए । अचानक कताबाट एक्ले स्याल बास्न थालेपछि पो बूढाले हरेस खाए ।“ खत्रीनी बोजु रोएर आफैलाई बगाउन लागिपरेकी थिइन् । रुँदै कुरा थपिन्, “एक्ले स्याल बासेको सारै नजाती हो । गाउँमा ज्यान जान्छ जान्छ ।”

मलाई कुरा सुनेर भित्रभित्रै असजिलो लाग्न थालिसकेको थियो ।

एकै छिनमा एक्ले स्यालको कुरा प्लेग जस्तै फैलियो । भेला भएका जम्मैको मुखभरी एक्ले स्याल बासेकै कुरा झुन्डिएको थियो । सबै भन्न लागे -“एक्ले स्याल अपशकुन हो । त्यो दोख एक्ले स्याललाई  जस्सरी नि खोजेर मार्नै पर्छ । नत्र अरू ज्यान पनि जान्छ ।”

उत्तेजित हुँदै सबैले हो मा हो मिलाए । मलाई हृदयघात होला जस्तो त तब भयो जब प्रधान काकाले सत्तुलाई हेर्दै आदेश दिनु भो, “ओइ सत्तेहाङ , तेरो बन्दुक छ होइन ? लु यो जिम्मा तँलाई भयो । एउटा टीम बना अनि भोलि रातिदेखि नै त्यो अलच्छिना स्यालको खोजीमा निस्की ।”

बडो जोशका साथ सत्तुले खुशीखुशी हुन्छ काका भन्यो । जता जाऊँ स्यालकै कुरा मात्र चलिरहेको छ । तलाउको छाल जस्तो विस्तार भैरहेछ । म निसासिन थालेँ । अरूको त कुरा छाडौं मेरै छेउमा रहेछ तिलक ! ऊ केटाकेटी पढाउने गाउँको मास्टर पनि भैसकेको थियो, कुरा थप्दै थियो, “हो यार । हाम्रो बाजे खस्दा पनि एक्ले स्याल कराको थियो । स्यालहरू त हूलमा कराउनु पर्ने हो नि !”

म निःशब्द भएँ । केही बोल्ने स्थिति नै थिएन । सबै स्यालमाथि नै रोष खन्याइरहेका थिए ।  मलाई भने मुटुमा जताततै च्वास्स च्वास्स घोचिरहेको थियो मानौँ म दोषी हुँ । खत्री बडाको मृत्युको कारण हुँ । मानौँ अब मैले पनि मृत्युदण्ड पाउनु पर्छ ।

“यो सब अन्धविश्वास हो । हूलबाट हराएको वा जोडी छुटेको एक्ले स्याल नकराएर के चूप लागेर बस्छ त ?” मैले आफैसँग भनेँ ।

“एक्ले स्याल बासेपछि भएको मृत्यु केवल एक मनोवैज्ञानिक कारण मात्र हो । त्यस्तो अरू थोक केही होइन,” म भित्रभित्रै उकुसमुकुस भएँ ।

मसँग सत्य कुरा खोल्ने र सबैलाई सम्झाउने हिम्मत थिएन । मेरो सासै रोकिएको जस्तो भएको थियो । ममाथि सयौं वाणहरूको वर्षा भएको अनुभूति मैले गरिरहेको थिएँ । म त्यस माहौलमा पलपल आफै मरेको महसूस गर्दै थिएँ । छातीभित्र अटेसमटेस खाँदिएका शब्दहरूलाई दबाउँदै  म त्यहाँबाट अपराधी मुद्रामा निर्वाक निस्किएँ । टिक्नै गाह्रो भएपछि सत्तु लगायत अरू कसैलाई थाहै नदिई त्यहाँबाट मैले सुइँकुच्चा ठोकेँ ।

म हुरिइँदै मातेको मान्छे जस्तो राईहरूको साकेला थान मुन्तिर आइपुगेँ । मलाई डाँको छोडेर बेस्मारी रुन मन लागिरहेको थियो । मैले साकेला थान छेवैको  सुन्दर पोखरीमा आफूलाई हेरेँ । ऐना जस्तो सङ्लो पानीमा आफ्नो छाया टिल्पिलायो । मैले आफ्नो मुख चुच्चिँदै गएर स्यालको थुतुनो भएको देखेँ । मेरो अनुहार झ्याप्प स्यालका झैँ राता-खैरा रौंले ढाकिएका थिए । इँ गर्दा लामा लामा दाह्राहरू देखिए । दुवै कान सुइरिएर तीखा भएका थिए । बेस्सरी डराएको म मानवीय स्याल वा स्यालीय मानव हस्याङफस्याङ गर्दै आफ्नो घरतर्फ बेपत्तासँगले भागेँ ।

क्षत्रिय रीतिअनुसार लाश जलाउन दिखुवा खोलातिर लैजाने चलन थियो । शायद मलामीहरू पैयुँडाँडा काटे होलान्  । केही बेरपछि दूर दूर शंखको आवाज पातलिँदै गैरहेको मैले थाहा पाएँ ।

० ० ० ०

आखिर शहर फर्कने दिन आयो । सत्तु मलाई छोड्न भनेर रात्माटे डाँडासम्म सँगसँगै आयो । छुट्ने बेला पनि भयो । मेरो मन कटक्क खायो । मैले सधैं हँसमुख मेरो साथी सत्तुको अनुहार पहिलो पटक यति मलिन देखेँ । उसको पहेँलो ज्याकेट, उसको ऊनको टोपी, थोरै उध्रेको जुत्ता, हाँस्दा बन्ने गालाको खाल्डो, चञ्चल आँखा सबै सबै सत्तुकै जस्ता दुरुस्त थिए । गायब थियो त केवल  अनुहारको चमक ! अब यस बिन्दुबाट ऊ गाउँ फर्कनु पर्ने थियो । म आफ्नो बाटो लाग्नु पर्ने थियो ।

छुट्नु अघि मैले वरिपरि कोही छ कि भनेर एकपटक  यताउता हेरेँ अनि कोही नभएकोले ढुक्क हुँदै सत्तुलाई भनेँ, “सत्तु ! चिट चोरेरै भए पनि अर्को पाली चैं एसएलसी पास् गर्नु है ! आफूले सकिञ्जेल पढ्नू । सारैसारै भएन भने अलिअलि चिट पनि चोर्नू । पास भएर काठमाडौं जसरी नि आउनू । हामी कोठा खोजेर सँगै बसौंला के !”

सत्यहाङले टाउको कनाउँदै भन्यो, “भो हौ ! चिट त नचोरुङ् । आफै प्रयास गरिहेर्छु ।”

म उसको जवाफ सुनेर मुसुमुसु हाँस्दै बाटो लागें र हातको इशाराले उसलाई ‘अब घर फर्की’ भनेँ ।

अलि पर पुगेपछि अन्तिम पटक फेरि एक फेर फर्किएर ठूलो आवाजमा बेस्सरी कराएँ-

“ओइ सत्तु ! अनि त्यो बन्दुक बोकेर एक्ले स्याल खोज्न पनि छोड्दिनू । अब त्यो कहिले भेटिन्नँ । बुझिस् ?”

उसले मतिर नफर्की बडो बेवास्तासँगले “ल ल” भन्यो र ऐंसेलुको झ्याङमा बिलायो ।

म ओरालो लागेँ । पारि खाल्ले, त्यसपछि शेरा, त्यसपछि आहाले, दोभान, नयाँ बस्ती, फोक्सिङ टार, भँडारे घाट, रसुवा, अधेँरी, तेस्रो दिन गाईघाट अनि मात्रै बल्ल काठमाडौं जाने नाइट बस चढ्न पाइन्छ । सम्झेरै पनि मेरा गोडा फतक्क गलेर आए ।

० ० ० ०

ओरालो झर्दै गर्दा सत्तुकोमा खाना खाने निम्तो मान्न गएको रातको सम्झना आयो । एउटा यस्तो रहस्य जो मैले मेरो बेस्ट फ्रेन्ड सत्तुलाई पनि बताउन सकिनँ र शायद कहिल्यै कसैलाई बताउने पनि छैन । म पढेलेखेको मान्छे । त्यसमाथि जवान भैसकेको । त्यसमाथि  केटामान्छे । जाबो भूतप्रेतको डरले हायलकायल भएर एउटा नाटक मञ्चन गर्न बाध्य भएँ भनेर कसरी सुनाऊँ ? म किन मेरो लाज एक रहस्यको पर्दाले ढाकेरै नराखूँ ?  म शरमको अदृश्य पहाडले थिचिएँ ।

त्यस रात खानपिनको काम सकिएपछि बिँडी सल्काएर फुस्फुस धुवाँ उडाउँदै कान्छो उसको घरतिर अगुल्टो हल्लाउँदै उकालो लाग्यो । रात गाढा कालो भैसकेको थियो । म पनि अगुल्टो हल्लाउँदै बिजुवा खोलातर्फ लागेँ । दुर्भाग्यवश मेरो अगुल्टो कमजोर परेछ । मैले जति नै हल्लाए पनि त्यो बिस्तारै निभ्दै गएको थाहा पाएँ । मेरो मनमा भूतप्रेतको डर भरिन थाल्यो । सास फुलिएर आयो । मनको बाघले चिथोर्न थाल्यो र त्यो बाघ पनि भूतीया नै थियो । मानिसहरू भन्थे राँके भूतले आगो खोसेर लैजान्छ रे । त्यसले त एक झिल्काबाट पाखै झलमल्ल पार्छ रे । नजिकमा उज्यालो देखिन्न रे । केवल टाढाटाढा गाउँबाट मात्रै त्यस्तो राँकोहरूको जुलूस देख्न सकिन्छ रे । उसो भए के मेरो अगुल्टो पनि राँके भूतले खोसेर निभाइदिएको हो ? सोचेर मेरो निर्बलियो शरीरमा निबुवाका काँडाहरू जिङ्ग्रिङ्ग पलाए ।

बिजुवाखोला पुग्नासाथ मेरो अगुल्टोले सम्पूर्ण रूपले दम तोड्यो । अब म निहत्था भएँ । त्यस रातको खुल्ला आकाशलाई लाखलाख धन्यवाद छ । मैले ताराहरूको टिमटिम उज्यालोमा कमसेकम बाटोको रेखा पहिचानसम्म गर्न सक्थेँ । कुन ढुंगा हो, कुन घाँसपात हो, ठम्याउन सक्थेँ । बिजुवा खोलाको पानी कुलुलुलु आवाज गर्दै टिल्पिल टिल्पिल बगिरहेको चिन्न सक्थेँ ।

खोला तर्दै गर्दा मेरो मगजले मनसँग तर्क गर्दै थियो ।

“धत् ! यत्रो पढेलेखेको मान्छे पनि भूतप्रेतमा विश्वास गर्ने हो ?”

“गर्ने हो । भूतप्रेत हुँदैन थियो भने हलिउडमा त्यत्रो हरर फिलिमहरू किन बन्छन् त ? भूतका कथाहरू जुनसुकै समाजमा पनि किन पाइन्छ त ?”

“अनि यत्रो उमेर पुगेर पनि डराउने त ?”

“डराउने नि । भूतले जवान मान्छेलाई चाहिँ कै नगर्ने होइन क्यारे !”

“शहर बसेको मान्छे पनि यस्तो यस्तो कुरा पत्याउने त ?”

“पत्याउने नि । शहरमा त झन् धेरै तर्साउँछ भन्छन् ।”

आफूलाई शान्त र बलियो देखाउन मैले एक पटक “अहं..” गर्दै गहकिलो बनावटी आवाज निकालेँ । तब मलाई अर्को एउटा कुराको याद आयो । यदि हामीले भूत देखेनौँ भने भूतले हामीलाई देखिरहेको हुन्छ रे र त्यो पो हामीसँग उल्टै डराउँछ रे । ‘आयो लाटो छोड्दे बाटो’ भन्दै बाटो छोडिदिन्छ रे । म तुरुन्तै त्यो मूर्ख मानवको नक्कली अभिनय गर्न तयार भएँ । म सेहेँ, वायु, सैतान सबै एकै पटक भएँ । मेरो सिङजुरो उम्रियो र नक्कली सानसँग म अगाडि बढ्न थालेँ ।

केही मिनेटमै मैले फटाफट खोला तरेँ । जसै खोलापारि पुगेँ मेरो अगाडि एउटी घर जत्रै उचाइ भएकी भीमकाय स्त्री ठिङ्ग उभिएको देखेँ । मैले उसको पूरै शरीर देखिनँ । केवल कम्मरमुनिको भाग देखेँ । त्यसले काला जामा लगाएकी थिई र केवल एउटा गोडामा उभिएकी थिई । अर्को गोडा गायब थियो । मेरो होसहवास उड्यो । टाउको फुलिएर आयो । जीउ चिसो तर निधारमा चिट्चिट पसिना छुट्ला जस्तो भो । अब म बेस्सरी चिच्याउन तयार भएँ तर गलाबाट आवाज निस्केला भन्नेमा आफै निश्चिन्त हुन सकिनँ । मैले आँखा बन्द गर्ने निर्णय गरेँ । आँखा चिम्म गर्नै लागेको थिएँ अचानक मेरो होस ठेगानमा आयो । मैले ध्यान दिएर त्यो आकृतिलाई फेरि हेरें र चिनेँ । त्यो केवल एउटा ठूलो चिलाउनेको रूखमा मकैका सुकेका बोटहरू बाँधेर झुन्ड्याइएको हिउँदे घाँसको व्यवस्थापन मात्र थियो । स्थानीय भाषामा हामी त्यसलाई ‘टुप्पा राख्नु’ भन्ने गर्थ्यौं । त्यो त्यही टुप्पा राखिएको थियो । तब मेरो गएको सातो फेरि फर्कियो । हंस आफ्नो ठाउँमा आएर बस्यो ।

ठीक त्यति नै बेला सानो हुँदा स्कुले जीवनको मेरो एउटा कला सम्झन पुगेँ । शायद विशेष परिस्थितिमा मेरो अर्धचेतन मनबाट त्यो फुत्त बाहिरियो । अर्थात् त्यसलाई ‘सर्वाइभल इन्स्टिंक्ट’ पनि भन्न सकिएला । म कति मजाले स्याल कराउन जान्दथेँ..! गुरुहरू वनभोज खान जाँदा मलाई स्याल बास्न लगाउँथे । म पनि फुर्कीफुर्की स्याल बासिदिन्थेँ । ठूलो भएपछि त्यो कलाको कतै कुनै प्रयोजन भएन । अतः यो लागिरहेको डर निवारण गर्न मैले फेरि एक पटक स्याल कराउने निधो गरेँ ।

‘हुइ..हुइहुइ..हुइ…’

म स्याल कराउन थालेँ । सम्पूर्ण वातावरणमा एक्ले स्यालको रोदन गुञ्जियो । म डरलाई मिच्दै मिच्दै अघि बढेँ । डर न्यूनीकरण हुँदै गयो । वारिपारि दुवै गाउँका कुकुरहरू भुक्न थाले । अघिसम्म शान्त माहौल अहिले स्याल र कुकुरको दोहोरीले पूरै खल्बलियो र जाग्यो । अब अर्को खड्गो काट्नु थियो कटुवाल धाराको । त्यो तर्साउने भनिएको बूढो किम्बुको रूखको । त्यत्ति परीक्षा पास भएपछि त म सजिलै घर पुगिहाल्ने थिएँ ।

आखिर त्यही स्यालबासी कलाले मलाई भूतीया कटुवालधारा पनि नडराई सहजै पार गरायो । मेरो अजीवको त्यो प्रतिभाले आखिर रातको डरमाथि विजय प्राप्त गर्‍यो ।

हाम्रो हिउँदे गोठ पुगेपछि बल्ल मैले स्याल कराउन बन्द गरेँ र एक किसिमको लाज र ग्लानि मिश्रित भावसहित म घर पुगेँ ।

भोलि बिहानै जोडी शंखको एकदमै उदास र विरक्तलाग्दो आवाजले म ब्युँझिएँ ।